काठमाडौँ । ई–स्पोर्ट्स सङ्घ नेपाल (इशान)ले पब्जी मोबाइल ई–स्पोर्ट्स वर्ल्डकप खेल्न साउदी अरब प्रस्थान गर्न लागेको नेपाली टोली ‘होर ई–स्पोर्ट्स’लाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरेको छ। राष्ट्रिय खेलकुद परिषद्मा आयोजित कार्यक्रममा टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको हो।
पब्जी टिममा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामा खेलाडीको रूपमा सहभागी हुँदै छन्। टोलीको म्यानेजरमा उमेश बुढथापा रहेका छन् भने अफिसियलको रूपमा सञ्जन गौतम र नवराम श्रेष्ठ पनि टोलीमा छन्।
साउदी अरबमा आगामी जुलाई २५ देखि अगस्ट २३ सम्म आयोजना हुने ई–स्पोर्ट्स वर्ल्डकपमा नेपालबाट ‘होर ई–स्पोर्ट्स’ एक्लो टोलीको रूपमा छनोट भएको हो। काजकिस्तानमा गत महिना सम्पन्न पब्जी मोबाइल सुपर लिग सेन्ट्रल तथा साउथ एसिया प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै टोलीले विश्वकपमा स्थान बनाएको हो।
झन्डै ४१ करोड रुपैयाँ पुरस्कार राशी रहेको उक्त प्रतियोगितामा विजेता टोलीले करिब ७ करोड रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। टोलीलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ लगायत पदाधिकारीहरू उपस्थित थिए।


प्रतिक्रिया