गगनजीले केन्द्रीय कार्यालयमा पुस्तकालयको व्यवस्था गरेर ठूलो काम गर्नुभयाे : देउवा

गगनजीले केन्द्रीय कार्यालयमा पुस्तकालयको व्यवस्था गरेर ठूलो काम गर्नुभयाे : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा पुस्तकालय निर्माण गरेकोमा महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन् ।

सोमबार केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको नेतृत्वमा रहेको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टी कार्यालयमा पुस्तकालय बन्नु राम्रो भएको बताए ।

‘महामन्त्री गगन थापाजीले केन्द्रीय कार्यालयमा पुस्तकालयको व्यवस्था गरेर ठूलो काम गर्नुभएको छ,’ सभापति देउवाले भने, ‘मैले त पुस्तकालय तल राखौं भनेको तर उहाँले माथि राख्नु भएको छ, उसै त कांग्रेसीहरू पढ्दै पढ्दैनन् भन्छन्, फेरि माथि को जान्छ पढ्न भन्ने पनि छन् ।’

पुस्तकालयमा राम्रा किताबहरू रहेको भन्दै उनले महामन्त्री थापाको प्रशंसा गरेका थिए । पुस्तकालयमार्फत पार्टीका नीति र सिद्धान्त बुझाउन सके राम्रो हुने पनि उनले बताए ।