रुपन्देही–३ मा रास्वपाले कसलाई उम्मेदवार बनाउँदैछ ?

रुपन्देही–३ मा रास्वपाले कसलाई उम्मेदवार बनाउँदैछ ?


ग्लोब नेपाल
1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार चयन गर्ने प्रक्रिया आउँदो बुधबारबाट सुरु गर्ने जनाएको छ । रास्वपाले कसलाई उम्मेदवार बनाउँदैछ भन्ने चर्चा यतिबेला सर्वाधिक चासो बनेको छ ।

गत निर्वाचनमा नेकपा एमालेको सहयोगमा राप्रपाबाट दिपक बोहोरा निर्वाचित भएका थिए । बोहोराको गत चैत १९ मा निधन भएकाले उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । राप्रपाका बोहोरासँग कांग्रेसका पूर्वगृहमन्त्री बालकृष्ण खाँण पराजित भएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा खेपिरहेका खाँणलाई कांग्रेसले पुनः प्रतिस्पर्धामा नउतार्न सक्छ ।

कांग्रेस र एमालेबाट जो उम्मेदवार बने पनि मतदाता उनीहरुसँग असन्तुष्ट छैनन । त्यत्तिमात्र होइन, यी दुवै दलको आन्तरिक द्वन्द्व सतहमै आइपुगेको छ । खाँणलाई उम्मेदवार नबनाइँदा कांग्रेसमा अन्तरघात हुने निश्चित छ । एमालेभित्र पनि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको लडाइँले ठूलै रुप लिइसकेको छ । पूर्वमुख्यमन्त्री लीला गिरीलाई हटाएर चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएपछि पौडेल र पोखरेलको द्वन्द्व सतहमा देखिएको हो । कांग्रेस र एमालेको आन्तरिक द्वन्द्वका प्रत्यक्ष फाइदा रास्वपालाई पुग्ने देखिएको छ । त्यसैले रास्वपाले कसलाई उम्मेदवार बनाउँछ भन्ने विषय सर्वाधिक चासो बनेको हो ।

उम्मेदवार छनोट प्रकृया बुधबारबाट सुरु गरे पनि रास्वपाले अहिलेसम्म दुईजनाको नाम चर्चामा ल्याएको छ । अघिल्लो निर्वाचनमा उम्मेदवार बनेका जीतबहादुर गुप्ता वा सागर ढकालमध्ये एकजना उम्मेदवार बन्ने पक्काजस्तै छ । गुल्मीबाट रुपन्देही झरेका ढकालभन्दा उक्त निर्वाचन क्षेत्रमा गुप्ता नै लोकप्रिय ठानिएको छ । गत निर्वाचनमा गुप्ताले ५ हजार ७ सय ९६ मत प्राप्त गरेका थिए । त्यसबेला बोहोरा ३६ हजार ७ सय १७ मत ल्याएर निर्वाचित भएका थिए । दोस्रा भएका खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए ।

उक्त क्षेत्रमा उम्मेदवार हुन चाहनेले आउँदो बुधबारदेखि २१ साउनसम्म आवेदन पेश गर्न सक्ने छन् । पार्टीको न्यूनतम मापदण्ड र कानुनी योग्यता पुगेका व्यक्तिहरूले उम्मेदवारको दाबी गरेर आवेदन दिन सक्ने रास्वपाले जनाएको छ । रास्वपाले प्रारम्भिक मतदानबाट उम्मेदवार छान्ने विधि बनाएको छ ।

उम्मेदवार हुन इच्छुकले रास्वपाको मोबाइल एपबाट आवेदन दिनुपर्ने पार्टीको निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जानकारी गराए ।