पिटर्सह्याम । नेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलियाले यस वर्ष पनि भव्यताका साथ अन्तराष्ट्रिय आदिवासी दिवस मनाउने भएको छ। अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच सहकार्य, ऐक्यबद्धता र सचेतना बढाउने उद्देश्यसहित यो कार्यक्रम आयोजना गर्न लागेको नेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलिया (निन्फा) का अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।
कार्यक्रम १० अगस्ट आइतबारको दिन अष्ट्रेलियाको पिटर्सह्याम टाउन हल (107 Crystal Street, Petersham NSW 2049) मा आयोजना हुने भएको छ। कार्यक्रममा नेपाली आदिवासी जनजातिहरूको सांस्कृतिक पहिचान झल्काउने लोकनृत्य, गीत-संगीत र परम्परागत मौलिक पोशाक प्रदर्शन गरिने भएको छ।
अष्ट्रेलिया र अन्य मुलुकका आदिवासी समुदायहरूलाई समेत समेट्नेगरी विविध सांस्कृतिक गतिविधिहरू समेत प्रस्तुत गरिने तयारी भएको निन्फाका अध्यक्ष गुरुङले बताए । साझँ ५ बजेबाट शुरू हुने कार्यक्रममा विश्वभक्त दुलाल (आहुति) मुख्य बक्ताको रुपमा रहनु हुनेछ।
यसैगरी कलाकार मिलन लामा, गणेश गुरुङ र भीमु गुरुङसहित अन्य ख्याति प्राप्त कलाकारको विशेष प्रस्तुति रहने आयोजकको भनाई छ।
कार्यक्रममा न्यू साउथ वेल्सका वाणिज्यदूत सन्जिव शर्मा, फेडरल लेवर सांसद एमएस अस्भाबनीलगायतका विशिष्ट अतिथिहरूसहित स्थानीय नेपाली समुदायका प्रतिनिधिहरूको समेत उपस्थिति रहनेछ । यो कार्यक्रमले नेपाली आदिवासीहरूको सांस्कृतिक पहिचान, आत्मसम्मान र अधिकारको आवाजलाई बुलन्द गर्न सघाउने विश्वास लिइएको छ।
‘आदिवासी जनताको आत्मनिर्णयको अधिकार: खाद्य सुरक्षामा मार्गचित्र’ भन्ने नारासहित आयोजना हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र कार्यक्रमलाई भव्य र प्रभाकारी तुल्याउने प्रयास भइरहेको निन्फाका अध्यक्ष गुरुङले बताए ।
कार्यक्रमले आदिवासीहरूको हक अधिकार र उनीहरूको मौलिक पहिचान संस्कार संस्कृतिको उजागर गर्दै विश्वबन्धुत्वको भावना अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकको भनाई छ। यसले अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई अन्य समुदायको निकट लैजाने, आपसी सहयोग र सहकार्यलाई बढाउने अपेक्षा गरिएको छ।
यसपटक अष्ट्रेलियामा नेपाली समुदायको पहिचान, एकता र सहकार्यको अनुपम उदाहरण प्रस्तुत गरिन लागेकोले सबै नेपाली संघसंस्थाहरूको उपस्थिति र सहभागितालाई उच्च सम्मान गरिने तयारी आयोजकको छ।
कार्यक्रममा अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली संघ संस्था र अन्य आदिवासी समुदाय, सामाजिक अभियन्ता, सांस्कृतिक प्रेमीहरूको विशेष उपस्थिति र सहभागिता रहने अपेक्षा आयोजकले गरेको निन्फाका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।


प्रतिक्रिया