कांग्रेसका सात भाइ नेतालाई देउवाले भने : सरकारविरुद्ध अहिले नबोल्दिनुस्

कांग्रेसका सात भाइ नेतालाई देउवाले भने : सरकारविरुद्ध अहिले नबोल्दिनुस्



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध नबोल्न पार्टीका नेताहरुलाई आग्रह गरेका छन् ।

देउवालाई १४औं महाधिवेशनमा सघाएका सात भाइ नेताको तर्फबाट भेट्न पुगेका पाँच नेतालाई सम्बोधन गर्दै सभापति देउवाले सरकारका विषयमा प्रश्न उठ्ने गरी कुनै कदम नचाल्न आग्रह गरेको भेटमा सहभागी एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार सरकारले नागरिक आकांक्षा पूरा गर्न नसकेको सातबुँदे सहमति अनुरूप उपलब्धि देखाउन नसकेको सहितका प्रश्न नेताहरूले उठाएका थिए । ती प्रश्नमा सभापति देउवाले सरकारले विस्तारै सुधार गर्दै जाने भन्दै अहिले नै प्रश्न उठ्ने गरी काम नगर्न आग्रह गरेका हुन् ।

सात भाइ नेताहरुले सोमबार कांग्रेसका नेता एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा बसेकाे बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरेका थिए ।

छलफलमा पूर्वउपसभापतिहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, उपप्रधानमन्त्री सिंह, डा.शशांक कोइराला र प्रवक्ता डा.प्रकाशशरण महत सहभागी थिए ।

साे बैठकले कांग्रेस–एमाले गठबन्धनको आयु २०८४ को निर्वाचनसम्मै रहने निष्कर्ष निकालेको थियाे ।