कुलिङ पिरियड दुर्घटनातर्फ लगे एमालेसँगको समझदारीमा दरार आउँछ : विश्वप्रकाश

कुलिङ पिरियड दुर्घटनातर्फ लगे एमालेसँगको समझदारीमा दरार आउँछ : विश्वप्रकाश



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलिङ पिरियडका सन्दर्भमा नेकपा (एमाले) ले राष्ट्रिय सभामा संशोधन प्रस्ताव राखेर दुर्घटनातर्फ लगे दुई दलबीच समझदारीमा दरार आउने बताएका छन् ।

बसुन्धरामा मंगलबार भएको ४३ औं विपी स्मृति गोष्ठीमा उनले यस्ताे बताएका हुन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा कर्मचारीका हकमा अवकाश वा राजीनामाको दुई वर्षसम्म संवैधानिक र कूटनीतिक नियुक्ति गर्न नमिल्ने गरी कुलिङ पिरियड राख्ने सहमति भएको थियो ।

यो व्यवस्था निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने क्रममा हेरफेर भएको बाहिरिएपछि छानबिन समिति गठन भएर काम अघि बढेको छ ।

कुलिङ पिरियड दुई वर्ष राख्ने पूर्वसहमतिअनुसार राष्ट्रिय सभाबाट निजामती सेवा विधेयकमा राख्न राज्य व्यवस्था तथा सुशासन समितिले आग्रहसमेत गरेको थियो । तर राष्ट्रिय सभामा एमालेका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएपछि कांग्रेस तरंगित भएको छ ।

महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘राज्य व्यवस्था समितिबाट पारित भएको कुलिङ पिरियडको जुन विषय थियो, त्यो विषयको सन्दर्भमा सभामुखमार्फत छानबिन समिति बनेको छ, जसको दोषको पाटो छ, उसलाई कारबाही गर्नुपर्छ । सँगै हामीले राज्यव्यवस्था समितिबाट सर्वसम्मत रूपमा अपिल गरेका छौँ, आह्वान गरेका छौँ, राष्ट्रिय सभामार्फत यसलाई सच्याइनुपर्छ । हामी सँगै बस्दैगर्दा सबै त्यो कुरामा सहमत पनि हुने, तर राष्ट्रिय सभामा फरक रूपमा संशोधन प्रस्ताव आइराखेर फेरि त्यसलाई दुर्घटनातर्फ लगियो भने स्वभाविक छ कि दुई वटा दलको हाम्रो जुन समझदारी हो, त्यो समझदारीमा एक ढंगको दरार उत्पन्न गर्छ ।’

उनले अहिलेको सरकारको सफलता फरक मतहरूको बीचको साझा मतबाट बन्ने पनि बताए ।

‘एउटै दलभित्र पनि दुईवटा, तीनवटा दृष्टिकोणहरू हुन्छन् भने स्वाभाविक छ अहिले दुईवटा दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच प्रतिस्पर्धा पनि छ, सहकार्य पनि छ, फरक मत पनि छ र यसको बीचबाट साझा मतको खोजी गर्नु पनि छ । त्यसैले यो बेलामा प्रधानमन्त्रीलाई यहाँबाट अपिल गर्नुपर्‍यो । अहिले हामीबीच उत्पन्न हुँदै गरेको समस्या, दुईवटा कुराको सन्दर्भमा हामी फरक मतमा छौँ । यो दुईटै कुराको हल, हाम्रो आग्रहलाई केन्द्रमा राखेर प्रधानमन्त्रीज्यूले गम्भीरता राख्नुपर्छ,’ उनले भने ।