काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पुँजीवादी क्रान्तिको चरण पार गरिसकेपछि नेपाली कम्युनिस्ट आन्दोलन चौबाटोमा अलमलिएको बटुवा जस्तो भएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७ औँ जन्मजयन्तीको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै शर्माले कम्युनिस्ट आन्दोलनको एक सदस्यको नाताले आफैमाथि प्रश्न गरिरहेको बताएका हुन् ।
चौबाटोमा अलमलिएको कम्युनिस्ट आन्दोलनबाट कसरी मुक्ति मिल्छ ? त्यसको उत्तर दिने बेला आएको उनले बताए । ‘पुँजीवादी क्रान्तिले एउटा चारण पार गरिसकेपछि चौबाटोमा हराएको बटुवा जस्तो यता जाऊँ कि उता जाऊँ भनेर अलमलिइरहेको कम्युनिस्ट आन्दोलनको एउटा सदस्यको नाताले मैले आफैमाथि प्रश्न गरिराखेको छु’, उनले भने, ‘यो भौतारिँदै गरेको अवस्थाबाट कसरी मुक्ति मिल्न सक्छ ? कुन दिशा अँगाल्ने भनेर प्रश्न अहिले हाम्रो अगाडि आएको छ ।’ उनले थपे, ‘सहिदहरूले गरेको बलिदानी, घाइतेले गरेको त्याग, उत्पीडित वर्ग समुदायले हामी प्रति गरेको विश्वास आफैलाई निहालेर हेर्दा हामीले कति घोकाएका कति आफै जानेका आश्वासन बाँड्दै आन्दोलनलाई अगाडि बढाइरहेका क्षणलाई सम्झँदै यति बेला म आफै आन्दोलनको कठघरामा उभिएको मैले महसुस गरेको छु । यो कठघराबाट हामीले प्रश्नको जवाफ दिन सक्छौँ कि सक्दैनौँ ?’
शर्माले वर्तमान नेतृत्वका सहयात्री योद्धाहरू पनि भएकाले उत्तर नदिँदा नेपाली जनताको आशा र विश्वास कम्युनिस्ट आन्दोलनप्रति हराउँदै जाने खतरा रहेको बताए ।
उत्तर दिँदा कतिपयलाई मन नपर्ने भए पनि इतिहासप्रति बेइमानी गर्न नहुने उनकाे तर्क छ । ‘यो व्यक्ति विशेषको कुरा होइन । यो वर्ग, आन्दोलनप्रति विश्वास, सङ्कल्पको कुरा हो । पुष्पलालले सर्वहारा वर्गको अग्रदस्ता निर्माणमा भूमिका खेल्नुभयो । युवा अवस्थामा कफन बाँधेर हजारौँ योद्धाका बिचमा यो लडाइँ लड्यौँ’, उनले भने ।
मनमोहन अधिकारीवाहेक कुनै पनि नेपालका कम्युनिस्ट प्रधानमन्त्री विचौलिया र कमिसनखोरबाट टाढा रहन नसकेको उनकाे आराेप छ । पूर्वअर्थमन्त्री शर्माले नेपालमा ९ पटक कम्युनिस्ट नेतृत्वको सरकार बने पनि सिद्धान्त अनुसार काम गर्न नसकेको बताए ।
उपमहासचिव शर्माले भने, ‘प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन । दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरु कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्,यो ठहर भएकै छ । यो आरोप होइन, यथार्थ हो ।’
शर्माले राजनीतिक नेतृत्व नयाँ संविधान कार्यान्वयनमा भन्दा सत्ताको कुर्सी प्राप्तितिर लागेकाले जनतामा निराशा बढेको बताएका छन् । उनले राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थमा पार्टनरसिप गर्नु दुर्भाग्यपूर्ण भएको बताए ।
‘हामीले राज्यपुर्नसंरचनाको कुरा उठाएका थियौँ । तर त्यतातिर लागेनौँ । हामी हतारमा सत्ताको कुर्सी प्राप्तिमा लाग्यौँ । जसले गर्दा नयाँ संविधान कार्यान्वयन गर्न सकिएन । पुरानै राज्य संरचना, माइड सेटले नयाँ संविधानको कार्यान्वयन, जनताको अधिकारको कार्यान्वयन गर्न उनीहरू तयार भएनन्’, उनले भने, ‘राजनीतिक नेतृत्व उनीहरूकै कारिन्दा जस्तो भयो । पुरानै माइन्ड सेटबाट परिचालित भए । व्यक्तिगत निहित स्वार्थमा पार्टनरसिप गरेर एकले अर्कालाई प्रशंसा गर्न स्थिति सिर्जना भयो । यो दुर्भाग्यपूर्ण स्थिति हो ।’


प्रतिक्रिया