पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन नदिने एमाले बैठकको निष्कर्ष

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन नदिने एमाले बैठकको निष्कर्ष

पार्टीको निर्णयमा तीन जना नेताकाे असहमति



काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति राजनीतिमा आउनु उचित नहुने निष्कर्ष निकालेको छ । ललितपुरको च्यासलस्थित मुख्यालयमा भएको नवौँ केन्द्रीय कमिटी बैठकले उक्त निष्कर्ष निकालेको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनु उचित नहुने बैठकले निष्कर्ष निकालेको बताए । “देशको राष्ट्राध्यक्ष सर्वोच्च पदमा भएको व्यक्ति, गणतन्त्रको प्रतीक, देशको अभिभावक राजनीतिक दलको कार्यकर्ता हुन राम्रो हुँदैन । ससम्मानमा कुनै कमी राख्न हुँदैन,” बैठकले गरेको निष्कर्षबारे गौतमले पत्रकारलाई जानकारी दिए ।

राष्ट्रिय गौरव प्रदान गरेको, संविधानको मर्म र भावनामा गलत नजिर राख्ने बैठकले निष्कर्ष निकालेको उनले बताए ।

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने पार्टीको निर्णयमा तीन जना नेताले असहमति जनाएका छन् ।

पार्टी बैठकमा अध्यक्ष ओलीले पार्टी विधानको धारा ८ र ९ देखाउँदै सदस्यता नवीकरण गर्न नहुने निर्णय सुनाएका थिए । ओलीले उक्त निर्णय सुनाउँदै गर्दा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले फरक मत राखेका हुन् ।

उनीहरूले पार्टीको निर्णयमा असहमति राखेका हुन् । हिजो र आज चलेको केन्द्रीय कमिटी बैठकपछि पार्टीले यस्तो निर्णय लिएको हो ।

मंगलबार नै भण्डारीले आफू अघि बढिसकेको र नफर्कने बताएकी थिइन् ।