देश लुट्नकै लागि गठबन्धन भएको जस्तो देखिन्छ’ : लिङ्देनको कटाक्ष

देश लुट्नकै लागि गठबन्धन भएको जस्तो देखिन्छ’ : लिङ्देनको कटाक्ष



काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारप्रति कडा आलोचना गर्दै उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणलगायतका विषयमा सरकार मौन बसेको आरोप लगाए।

“कांग्रेस र एमाले जस्तो दुई ठूला पार्टी मिलेको सरकारले देश लुट्नलाई टेन्डर पारेजस्तो व्यवहार भइरहेको छ। कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो कसले धेरै कमाउने भन्दै प्रतिस्पर्धा चलिरहेको छ,” उनले भने।

उनका अनुसार सरकारले अहिलेको अवस्थामा “भ्रष्टाचार कहाँ कहाँ छ भन्दा पनि कहाँ छैन भनेर खोज्नुपर्ने” अवस्था सिर्जना भएको छ। लिङ्देनले भिजिट भिसाको मात्रै होइन, अन्य दर्जनौँ मन्त्रीहरूका गतिविधि पनि शङ्कास्पद रहेको दाबी गर्दै ती सबैमा छानबिन आवश्यक रहेको बताए।

“भिजिट भिसामात्रै होइन, दर्जनौँ मन्त्रीहरूको विषय आइरहेको छ। बजार भाउ बढाएर कमिसन खाइरहेको कुरा आइरहेका छन्। ती सबैको छानबिनको लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन हुनुपर्छ। त्यस बेलासम्म हाम्रो विरोध जारी राख्छौँ,” लिङ्देनले स्पष्ट पारे।

साथै उनले सङ्ख्याको भरमा निर्णय लाद्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै भने, “सदनमा सङ्ख्याको बलले पेलिरहे सडकबाट टुङ्गो लगाउनेतिर जाने सरकारलाई चेतावनी” दिन्छु।

राप्रपाले लामो समयदेखि उठाउँदै आएको मुद्दालाई वेवास्ता गर्दै आएको भन्दै उनले सरकारले गम्भीर भएर सुधार नगरे सडक आन्दोलनको बाटो लिनुपर्ने चेतावनी दिएका छन्।