काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मालाई जवाफ फर्काएका छन् ।
बुधबार काठमाडौंमा नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा आयोजना भएको कार्यक्रममा प्रचण्डले पार्टीभित्र सिँगौरी खेल्न दिएको बताएका हुन् ।
‘भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन । मेरो कमजोरी उदार हुनु हो । मैलै बादल, किरणलाई कसैलाई पनि पार्टीबाट हटाएको होइन । अहिले केही केही साथीले सिँगौरी खेलेका छन् । मैले पार्टी कमिटी र परामर्श समितिमा आफ्ना मत राख्न दिएकै छु । योभन्दा बढी के हो जनवाद ?’, उनले प्रश्न गरे ।
शर्माले मङ्गलवार सोही मञ्चबाट कम्युनिस्ट पार्टीभित्र जनवाद कमजोर भएको र केन्द्रीयता हाबी भएको आरोप लगाएका थिए ।
३६ वर्ष नेतृत्वमा रहेर काम गर्दा एकथरीलाई छटपटी भएको प्रचण्डले आरोप लगाए । ‘मैले धेरै पटक आलोचना गरेको सुन्छु । एकथरी मान्छेलाई छटपटी भएको छ । ३६ वर्ष भइसक्यो छोड्दैन भन्छन् । म यसो सोध्छु । राति सुत्नेबेला सोच्छु । अब नेतृत्व छोडी दिउँ कि क्या हो ? फेरि एक मनले सोच्छु–मैले छोड्यो भने झन् बर्बाद हुन्छ कि जस्तो लाग्छ’, प्रचण्डले भने– ‘३६ वर्ष के गर्यो भन्नेलाई मेरो जवाफ छ– माओवादी धारलाई २०४८ मा एकताबद्ध गर्यो । २०५२ सालमा विद्रोह गर्यो । २०६३ सालमा शान्ति वार्तामा हस्ताक्षर गर्यो । शान्ति र विद्रोहको नेतृत्व गर्ने सबै नेताले गर्न सक्छन् ? वामपन्थी सबै एक हौँ भनेकै हो । कसका कारण एकता भएन सबैलाई थाहा छ ।,’
कार्यक्रममा प्रचण्डले कम्युनिस्ट पार्टीहरू अलग अलग नभई संयुक्त बलियो मोर्चा बनाउन समेत आग्रह गरे ।
‘दलाल पुँजीवादसँग समर्पित हुने तत्त्वप्रति उदारता देखायौँ भने कुनै कम्युनिस्ट आन्दोलनको अर्थ रहने छैन । दलाल पुँजीवादविरुद्ध खडा हुने सबैसँग एकता, सहकार्य र ध्रुवीकरण हुन जरुरी छ । मलाई लाग्छ दलाल पुँजीवाद र नोकरशाहीविरुद्ध एक हुन सक्यौँ भने बलियो कम्युनिस्ट मोर्चा बनाउन सक्छौँ’, उनले भने, ‘त्यसैले बलियो कम्युनिस्ट मोर्चा बनाउन म अपिल गर्छु । पार्टी एकता पनि गरौँ । संयुक्त मोर्चा पनि बनाऔँ । धेरै व्याख्या गर्न आवश्यक छैन । पार्टी एकता र संयुक्त मोर्चा बनाए मात्र पुष्पलालप्रति सच्चा सम्मान हुन्छ ।’
पुष्पलाल सबैले सम्मान गर्ने दार्शनिक, राजनीतिज्ञ भएको स्मरण गर्दै उनले जो दलाल पुँजीवादीका पछि लाग्छन् उनीहरू सच्चा कम्युनिस्ट नभएको जिकिर गरे ।


प्रतिक्रिया