काठमाडौँ । घरेलु टोली इङ्ग्ल्यान्डसँगको चौथो टेस्ट खेलका लागि भारतीय टोलीमा तीन नयाँ खेलाडी समावेश भएका छन्।
म्यानचेस्टरको ओल्ड ट्राफोर्ड मैदानमा सुरू भएको खेलमा भारतले साई सुदर्शन, शार्दुल ठाकुर र अंशुल कम्बोजलाई मौका दिएको छ। त्यस्तै, करुण नायर, आकाश दीप र नीतीश कुमार रेड्डी टोलीबाट बाहिर भएका छन्। रेड्डी पहिल्यै चोटका कारण श्रृंखलाबाट बाहिरिसकेका थिए।
यो खेलमा अंशुल कम्बोजले टेस्ट क्रिकेटमा डेब्यु गरेका छन्। हरियाणाका कम्बोज रणजी ट्रफीमा प्रथम श्रेणी क्रिकेट खेल्छन् र उनले एक पारीमा सबै १० विकेट लिने रणजी ट्रफीका तेस्रो खेलाडीको कीर्तिमान राखेका छन्।
इङ्ग्ल्यान्डले घाइते शोएब बशिरको ठाउँमा लियाम डसनलाई समावेश गर्दै आफ्नो प्लेइङ–इलेभन पहिले नै सार्वजनिक गरेको थियो।
चौथो टेस्टमा भारतले टस हारेर पहिलो पारी ब्याटिङ गर्दैछ। पाँच खेलको श्रृंखलामा इङ्ग्ल्यान्डले २–१ को अग्रता बनाएको छ।


प्रतिक्रिया