काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रले महिला, दलित आदिवासी, जनजाति तथा पछाडि पारिएको वर्गको हक अधिकार स्थापित गर्न र उनीहरूलाई मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
काठमाडौंमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल : एक तुलनात्मक अध्ययन’ नामक पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘जुनसुकै दलका भए पनि महिलाहरू पदमा आउँदा मलाई गर्व लाग्छ, विद्रोहको औचित्य प्रमाणित भएको छ ।’
उनले लामो त्याग, सङ्घर्ष तथा सहिदहरूको बलिदानका कारण मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र त्यसले पछाडि परेका वर्गलाई अगाडि आउन महत्वपूर्ण योगदान गरेको स्मरण गरे ।
अध्यक्ष दाहालले जाति भाषा, धर्म, संस्कृति र इतिहासप्रति सम्मान गर्न सकिएन भने देश सफल हुन नसक्ने बताए ।
देश छाड्नुपर्छ, देशमा केही भएको छैन, सबै खत्तमै भयो भन्ने भ्रम छर्ने प्रवृत्तिविरूद्ध प्रतिवाद गर्ने औजारका रूपमा पुस्तक सार्वजनिक भएको टिप्पणी गरे ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले गणतन्त्र अघिभन्दा गणतन्त्र आएपछि देशका धेरै क्षेत्रमा उल्लेख्य प्रगति भएको चर्चा गर्दै विकसित मुलुकको तुलनामा नेपालमा छिटो प्रगति भएको दाबी गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीले गणतन्त्रलाई असफल पार्ने प्रयास भइरहेको र त्यसलाई सफल हुन दिन नहुनेमा जोड दिँदै गणतन्त्रका पक्षमा सबै एक हुनुपर्ने धारणा व्यक्त गरे ।


प्रतिक्रिया