विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले सामाजिक सञ्जालमा गरेको विवादित टिप्पणीप्रति गम्भीर आपत्ति जनाएको छ । मेयर साम्पाङले फेसबुकमार्फत वीपी अस्पतालले उपमहानगरको जमिन सुटुक्क आफ्नो नाममा लगेको भन्दै त्यसविरुद्ध प्रदर्शनमा उत्रिन नगरबासीलाई अपिल गरेका थिए ।
बीपी कोइराला अस्पताल हटाएर सो स्थानमा नगर अस्पताल खोल्ने मेयर साम्पाङको घोषणा थियो । ‘भोलिदेखि वीपी अस्पतालले हाम्रो पुरानो अस्पताल आफ्नो नाममा जग्गा सुटुक्कै लगेको विरुद्ध प्रदर्शन गर्दै जग्गा फिर्ता गर्न दबाब दिऔं । नगर अस्पताल खोल्नु पर्यो के हाम्ले पनि ।’ उनले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई सम्बोधन गर्दै बीपीले हडपेको जमिन आफूहरुलाई फिर्ता दिने कि नदिने ? आगामी वर्षको बजेटमा आफूले अस्पताल बनाउन र चलाउन बजेट राख्ने किन नराख्ने भन्ने प्रश्न गरेका थिए ।
जनप्रतिनिधिसँग सधैं विवाद गर्दै आएका साम्पाङले अहिलेसम्म चालु वर्षको बजेट ल्याउन सकेका छैनन् । प्रतिष्ठानले मेयर साम्पाङले प्रतिष्ठानको जग्गाबारे गरेको टिप्पणी गरेर समुदायमा भ्रम फैलाएको जनाएको छ । प्रतिष्ठानले साम्पाङले जमिन ‘सुटुक्कै लगेको’ र ‘हडपेको’ जस्ता शब्दावली प्रयोग गरी जनमानसमा भ्रम सिर्जना गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिष्ठानले साम्पाङलाई त्यस प्रकारको गतिविधि रोक्न र स्टाटस सच्याउन भनेको छ । धरानको अभिभावक प्रमुख जस्तो पदमा रहेका व्यक्तित्वबाट यस्ता भ्रमित पार्ने शब्दसहित आम नागरिकमा गलत सूचना प्रवाह गर्न नमिल्ने भन्दै प्रतिष्ठानले फेसबुक पोष्ट हटाउन आग्रह गरेको छ । जग्गाको स्वामित्व प्रतिष्ठानमै रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।


प्रतिक्रिया