काठमाडौं । माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको शक्ति संघर्षलाई लिएर एमालेप्रति कडा कटाक्ष गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद बरालीले देश आर्थिक, सामाजिक र राजनीतिक दृष्टिले संकटमा फसेको बेला पनि सत्तारुढ दल एमाले आन्तरिक शक्ति संघर्षमा अल्झिएको टिप्पणी गरे ।
‘देश यता पनि बर्बाद, उता पनि बर्बाद हुँदै छ, हुँदाहुँदै भोजपुरे माझ किराँतकी छोरी र झापाली शिव चाम्लिङका छोराको मल्ल युद्धले अकर्को रमिता देखाएको छ,’ उनले भने । बरालीको टिप्पणी एमालेभित्र हालै उत्पन्न विवादप्रति लक्षित थियो । एमालेले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि पार्टीभित्र चर्को बहस र असन्तोष देखिएको छ ।
उनले राष्ट्रिय हितभन्दा माथि उठेर व्यक्तिगत अहम् र शक्ति प्रदर्शनमा लिप्त नेतृत्वको आलोचना गरे । ‘देश बर्बादीको डिलमा पुगेको छ, तर नेतृत्व गुट–उपगुट र शक्ति केन्द्रको खेलमा रमाइरहेको छ,’ बरालीले संसदमा भने ।
बरालीले यस्ता आन्तरिक द्वन्द्व र राजनीतिक नाटकले आम जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने सम्भावना नरहेको भन्दै जनप्रतिनिधिलाई जिम्मेवार बन्न आग्रह गरे ।


प्रतिक्रिया