रास्वपा र राप्रपाद्वारा ५९ औं दिन संसद् बहिष्कार

रास्वपा र राप्रपाद्वारा ५९ औं दिन संसद् बहिष्कार



काठमाडौं । संसद् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५९ औं दिन संसद् बहिष्कार गरेका छन् ।

‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय र संसदीय छानबिन समितिको माग गर्दै दुवै दलको अवरोधका बाबजुत प्रतिनिधि सभाको बैठक चलिरहेको छ । आफ्नो अवरोधको अर्थ नभएपछि दुवै दलका सांसदहरूले पछिल्लो समय बैठक सुरु भएपछि आफ्ना कुरा राख्छन् र बाहिरिन्छन् ।

बिहिबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कारबाही सुरु गर्ने बित्तिकै रास्वपा र राप्रपाका सांसद उठेर विरोध जनाएका थिए । सभामुख घिमिरेले रास्वपा सांसद तोसिमा कार्कीलाई बोल्ने समय दिएका थिए ।

‘भिजिट भिसा’ प्रकरणमा दुई महिनादेखि विरोध जनाउँदै आएको उल्लेख गर्दै सांसद कार्कीले उच्चस्तरीय छानबिन समिति नबनेसम्म विरोध नरोकिने बताउनुभयो। दुई प्रतिपक्षी दलले विरोध गर्दा पनि संसद् चल्ने अनौठो अभ्यास भएको भन्दै उनले आपत्ति जनाइन् ।

भैँसेपाटीमा सडक विस्तार गर्न लाग्दा सशस्त्र प्रहरीले रोकेको बताउँदै सांसद कार्कीले स्थानीयको जग्गा अधिग्रहण गरेर बनेको मन्त्री भवनले बाटो विस्तार गर्न दिनुपर्ने माग गरिन् । मन्त्रीले घुस माग गरेको अडियो टेप प्रकरणको सही छानबिन नभएको भन्दै उनले आपत्ति जनाइन् ।

राप्रपाका सांसद दीपकबहादुर सिंहले ‘भिजिट भिसा’ प्रकरणमा संसदीय छानबिन समिति नबन्दासम्म संसद्मा विरोध जारी रहने बताउनुभयो। सरकारले सहिद गङ्गालाल अस्पताललाई सहुलियत वापतको ७० करोड नदिएकाले बच्चाको मुटुको उपचार रोकिएको भन्दै तत्काल उक्त रकम दिनुपर्ने माग गरे ।