समृद्धि मुठ्ठीभर मानिसका लागि होइन, आमजनताका लागि हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

समृद्धि मुठ्ठीभर मानिसका लागि होइन, आमजनताका लागि हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशमा राजनीतिक स्थायित्व र विश्वासको वातावरण बनाएमात्रै लगानी आउने बताएका छन् । बिहीबार नेपालखबरले आयोजना गरेको ‘राइजिङ नेपाल समिट’लाई सम्बोधन गर्दै भण्डारीले नीतिगत स्पष्टता, विधिको शासन, पारदर्शी प्रशासन भए लगानीको वातावरण बन्ने बताइन् ।

“त्यसको आधार बनाउने कार्य राजनीतिक नेतृत्वको काँधमा छ,” उनले भनिन् ।

भण्डारीले समृद्धिको मार्ग अरूको मोडेल अनुकरण गरेर नभई आफ्नै समाजका आवश्यकता, स्रोत साधन, सन्दर्भ र सम्भावनालाई गहिरोरूपमा विश्लेषण गरेर तय गर्नुपर्ने उनको भनाइ छ ।

स्वदेशी उत्पादन र उत्पादकत्व बढाउन नसक्दा विदेशी मुद्रा तिरेर ठुलो परिमाणमा दैनिक उपभोग्य सामान भित्र्याउनुपर्ने बाध्यता रहेको बताइन् ।

उनले भनिन्, “नेपालको समृद्धि वर्तमान आर्थिक सुचकांकले मात्रै मापन गर्न सक्दैन। बरु यसलाई दिगो तुल्याउन राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिबद्धता र राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिराख्नुपर्दछ ।”

“हामीले के पनि बिर्सनु हुँदैन भने समृद्धि केवल मुठ्ठीभर मानिसहरूका लागि होइन, आमजनताका लागि हुनुपर्छ । त्यसैले लगानीसँगै रोजगारी, समावेशिता, ग्रामीण विकास, महिला उद्यमशीलता, श्रमिकको सुरक्षा, वातावरणीय जिम्मेवारी पनि सुनिश्चित हुनुपर्छ,” उनले भनिन् ।

उनले सघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि महत्त्वपूर्ण चरण पार गरेको भन्दै अब आर्थिक समृद्धिको अभियानलाई सफल पार्नुपर्ने परिवेशमा प्रवेश गरेको बताइन् ।

उनले लगानीकर्तालाई नेपाल अब स्थायित्व, परिवर्तन र विश्वासको नयाँ युगमा प्रवेश गरिसकेको पनि बताइन् । “यहाँ लगानी गर्नु केवल मुनाफा कमाउने कुरामात्र हैन, इतिहासको साझेदार बन्ने अवसर पनि हो । नेपालमा लगानी गर्नु भनेको एक गरीबलाई रोजगारी दिने, एक उद्यमीलाई हौसला दिने, एक गाउँमा उज्यालो ल्याउने कार्यसमेत हो,” उनले भनिन् ।