काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले सत्ता साझेदार नेपाली कांग्रेसलाई सङ्घीय निजामती विधेयकबारे आफ्ना सांसदहरूको संशोधन प्रस्ताव स्वतन्त्र रूपले राखेका बताएको छ ।
राष्ट्रियसभामा रहेको निजामती विधेयकमा कुलिङ पिरियड हटाउनेबारेमा एमाले सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसबारेमा संसद्मा बहस भइरहेको छ । कांग्रेसको जिज्ञासामा आफ्ना सांसदहरू संशोधन हाल्नका लागि स्वतन्त्र रहेको कुरा बताएको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।
आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले कांग्रेसले कुलिङ पिरियडमा एमाले सांसदहरूको संशोधनबारे बुझ्दा एमालेले संशोधनका लागि सांसदहरू स्वतन्त्र रहेको र त्यही अनुसार संशोधन आएको बताएको जानकारी दिए । सरकारले ल्याएकै भूमि ऐनमा पनि कांग्रेसका केही सांसदहरूले संशोधन राखेकाले यसलाई सामान्य रूपमा बुझ्नुपर्ने उनले बताए ।
कुलिङ पिरियडबारे थप छलफल गरेर टुङ्ग्याइने पनि प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया