काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धेरै चिन्ता लिन नपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै घिमिरेले रास्वपाले भिजिट भिसाकै कारण अहिलेको सफलता हासिल गरेकाे बताए ।
‘भिजिट भिसामा गएर उहीँ नागरिकता लिएर पासपोर्ट लिएर त्यही विदेशी पासपोर्टमा नेपाल फर्केर यहाँ मन्त्री उपप्रधानमन्त्री बनाइसकेका छौं । यो अभ्यास चलिसकेको देशमा भिजिट भिसाको बारेमा धेरै चिन्ता नगर्न आग्रह गर्छु । आज तपाईंलाई यो ठाउँमा पुर्याउने नै भिजिट भिसाको छ । धेरै चिन्ता किन गर्नुहुन्छ ?,’ उनले भने ।
भिजिट भिसाकै कारण आज सांसददेखि उपप्रधानमन्त्रीसम्म बन्ने ठाउँमा आइपुगेकाहरूले नै भिजिट भिसाको बढी चिन्ता लिएकोमा आश्चर्यचकित भएको घिमिरेले बताए ।
‘हामीले एउटा अभ्यास गरिसकेका छौँ । भिजिट भिसामा यहाँबाट बाहिर जाने, त्यहीँको नागरिकता लिने, त्यहीँ घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने, दुई चार वटा अरु काण्ड पनि मच्चाउने, पार्टी खोल्ने त्यसपछि गृहमन्त्री, अन्य विभिन्न मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म हुने अभ्यास हामीले गरिसकेका छौँ । किन चिन्ता गर्नुहुन्छ,’ उनले भने ।
उनले भिजिट भिसामा गएर उतै घरजम गर्नु, उतैको नागरिकता, पासपोर्ट लिनु अन्तर्राष्ट्रिय कानूनअनुसार पनि गलत कार्य रहेको र कुनै पनि देशले यसलाई राम्रो नमान्ने बताए ।


प्रतिक्रिया