आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : सभापति देउवा

आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार संविधान संशोधन गरिने बताएका छन् ।

शुक्रबार सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय ढुण्डीराज शास्त्रीको स्वर्गारोहणको ४५औँ दिनको स्मृतिमा आयोजित सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले संविधान बहुलवादमा आधारित रहेकाले बदलिँदो समयको मागअनुसार संशोधन गर्न सकिने धारणा व्यक्त गरे ।

उनले भने, “नेपालको संविधान बहुलवादमा आधारित छ । संविधान संशोधनका विषयमा अहिले सबै क्षेत्रबाट आवाज उठिरहेका छन् । राष्ट्रियसभाको सभापति र उपसभापतिलाई राख्नुपर्छ भन्ने धारणा छ । त्यसैले आवश्यकताअनुसार संविधान संशोधन हुन्छ ।”

सभापति देउवाले देशमा चुनावका बेला नेपाल कम्युनिष्ट पार्टीजस्ता दलहरू फरक देखिए पनि व्यवहार र तहमा सबै प्रजातान्त्रिक शक्तिहरूले सहकार्य गर्दै आएको जानकारी गराए । सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय शास्त्रीको कांग्रेस पार्टी देश र नागरिकका लागि निकै उल्लेख्य योगदान भएको भन्दै सभापति देउवाले उनको प्रशंसासमेत गरे ।