काठमाडौं । गृहमन्त्री रमेश लेखकले खानेपानी र सिँचाइको समस्या भएका स्थानको पहिचान गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
शनिबार (साउन १०) सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।
तराईका विभिन्न जिल्लामा खानेपानी र सिँचाइको समस्या विकराल बनेको छ । यसै सम्बन्धमा गृहमन्त्री लेखकले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रतिनिधिसँग छलफल गरेका हुन् ।
उक्त स्थानको पहिचान गरी वैकल्पिक स्रोत, वैज्ञानिक वितरणको व्यवस्था मिलाउन उनले निर्देशन दिए । कुनकुन ठाउँमा डिप बोरिङ गर्ने भन्ने स्थान पनि पहिचान गर्न र आवश्यकतालाई प्राथमिकीकरण गरी छिटो प्रक्रियाबाट ट्युबेल जडान गर्ने विषयमा ध्यान दिन उनले निर्देशन दिए ।
गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (साउन ९) महोत्तरीको एक कार्यक्रममा ५०० डिप बोरिङ गरेर मधेस प्रदेशमा पानीको समस्या तत्कालका निम्ति समाधान गर्ने घोषणा गरेका उल्लेख गरे ।
गृहमन्त्री लेखकले, ‘पहिलो कुरा, खानेपानी र सिँचाइको समस्या भएको स्थानहरूको पहिचान गर्नुपर्यो । कतिपयको तपाईंहरूले पहिचान गरिसक्नुभएको छ होला । चापाकलहरू सुकेको, बोरिङहरू सुकेको, ट्युबेलहरू सुकेको कुरा, ड्युब ट्युबेलहरू सुकेको कुरा पनि आइसकेको छ । नदीहरू सुकेको कुरा पनि राख्नुभएको छ । खानेपानी र सिँचाइको समस्या भएको ठाउँको पहिचान गर्नुपर्यो । अहिलेसम्म जति पहिचान भएका छन्, थपलाई पनि पहिचान गरेर राख्नुपर्छ । वैकल्पिक स्रोत र वैकल्पिक स्रोतहरूको पहिचान, वैज्ञानिक वितरणको व्यवस्था मिलाउनुपर्छ । प्रमुख जिल्ला अधिकारीहरूले यसको व्यवस्था मिलाउनुहोला । हिजो मात्रै सम्माननीय प्रधानमन्त्रीज्यूले बोरिङ गर्ने भनेर घोषणा गर्नुभएको छ । कुनकुन ठाउँमा गर्ने त्यो ठाउँको पहिचान गर्नुपर्छ । आवश्यकतालाई प्राथमिकीकरण गर्नुपर्छ । छिटो प्रक्रियाबाट डिप बोरिङ ट्युबेल जडान गर्ने कुरामा ध्यान दिनुहोला ।’


प्रतिक्रिया