काठमाडौं । कुलिङ अफ पिरियडको प्रावधानका सम्बन्धमा गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई छलफलमा बाेलाउने भएकाे छ ।
तीन जना नेतासँग भेटेर सोध्ने गरी प्रश्न तयार गरिएको समितिका एक सदस्यले जानकारी दिएका छन् । कुलिङ अफ पिरियडमा तपाईंको धारणा के छ ?, यो समितिलाई के सुझाव दिन चाहनुहुन्छ ? भन्ने प्रश्न तयार गरिएको छ ।
शीर्ष नेताले कुलिङ पिरियडबारे जे धारणा दिन्छन् त्यसले राष्ट्रिय सभालाई समेत सघाउने छानबिन समितिको विश्वास छ ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीका लागि राजीनामा वा अवकाशपछि २ वर्ष कुलिङ पिरियड लागु हुने गरी विधेयक पारित गरेको थियो । तर, विधेयकमा कुलिङ पिरियडको प्रावधान नै निश्कृय हुने भाषा समेत परेको भनेर प्रश्न उठेपछि छानबिन गर्न प्रतिनिधि सभाले कांग्रेसका सांसद जीवन परियारको सभापतित्वमा समिति गठन गरेको हो ।
प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा विचाराधीन छ ।
पारित भएको विधेयकको प्रतिवेदनमा कुलिङ पिरियड निश्कृय हुने प्रावधान रहेको भनेर प्रश्न उठेपछि प्रतिनिधि सभाले छानबिन समिति बनाएर छलफल गरिरहेको छ ।
राष्ट्रिय सभाले पनि विधेयक अगाडि बढाएको छ । राष्ट्रिय सभामा कुलिङ पिरियडको प्रावधान नै नराख्ने भनेर समेत संशोधन परेका छन् । यस्तो संशोधन सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेकै सांसदहरूबाट परेको छ ।
यसैबिच, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघीय निजामती विधेयकमा रहेको कुलिङ पिरियडमा भएको छेडखानीमा अन्तिममा नेकपा एमालेले म्याउँ गरेको आरोप लगाएका छन् ।
उनले कुलिङ पिरियडमा भएको छेडखानीमा एमाले र यसको नेतृत्व जिम्मेवार रहेको आरोप लगाएका हुन् । उनले एमालेको नियत नै निजामती विधेयकमा छेडखानी र षड्यन्त्र गर्ने रहेको देखिएको आरोप लगाएका छन् ।
संसदीय विशेष छानबिन समितिमा नेपाली कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।


प्रतिक्रिया