नेप्सेमा ८ दिनपछि गिरावट, तर कारोबार साढे २६ अर्ब नाघ्यो

नेप्सेमा ८ दिनपछि गिरावट, तर कारोबार साढे २६ अर्ब नाघ्यो



काठमाडौँ । नेप्से परिसूचकमा आज घटावट देखिएको छ। लगातार आठ दिनसम्म बढ्दै आएको बजार आज हप्ताको पहिलो दिन १८.४४ अंकले घटेर २९६४.२० विन्दुमा झरेको हो। यद्यपि दिनको मध्यतिर नेप्से ३०१३ विन्दु सम्म पुगेको थियो।

आज विकास बैंक, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र व्यापार बाहेकका सबै समूहमा गिरावट आयो। फाइनान्स समूह सबैभन्दा बढी प्रभावित भयो, जहाँ लगभग २ प्रतिशतको गिरावट देखियो। नारायणी विकास बैंकको शेयर झन्डै ६.५ प्रतिशतले घट्यो।

बजार घटेको भए पनि केही कम्पनीको प्रदर्शन उल्लेखनीय रह्यो। समता घरेलु लघुवित्त र ट्रेड टावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ।

नेप्से घट्दा पनि कारोबार रकम भने उत्साहजनक रूपमा बढेको छ। बिहीबार १८ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने आज ३२३ कम्पनीका ५ करोड ८६ लाख कित्ता शेयरहरु किनबेच भई कुल कारोबार २६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

यो कारोबार रकम पछिल्लो १३ महिनाको उच्चतम हो। यसअघि भदौ २ गते २८ अर्ब ८३ करोडको कारोबार भएको थियो।