काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको प्रस्ताव अघि सारेका छन्, तर नेकपा (एकीकृत समाजवादी) ले तत्काल कुनै निष्कर्षमा नपुगेको बताउँदै एकताका लागि तयार नभएको प्रष्ट पारेको छ।प्रकाश ज्वालाका अनुसार पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उक्त प्रस्ताव आएको भए पनि समाजवादी पार्टी एकताका लागि तत्काल तयार नरहेको स्पष्ट पारेका छन्।
ज्वालाले भने, “माओवादीबाट एकता गरौं भन्ने प्रस्ताव आएको छ। तर हामीले ठोस रूपमा छलफल निष्कर्ष गरेका छैनौं।”
पार्टी एकताको प्रस्ताव माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलन र विभिन्न कम्युनिस्ट पार्टीहरूमा देखिएको संकट समाधान गर्न भन्दै अघि सारेको बताइएको छ। आइतबार र सोमबार प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको संवादमा प्रचण्डले उक्त प्रस्ताव राखेको स्रोतको दाबी छ।
तर माधव नेपालले भने पार्टी एकता गर्न हतार नगर्ने संकेत दिएका छन्। सोमबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुबै पार्टीका शीर्ष नेताहरूबीच लामो छलफल भएको थियो। त्यसको अघिल्लो दिन आइतबार खुमलटारस्थित प्रचण्ड निवासमा समेत दुई नेताबीच भेटवार्ता भएको थियो।
उक्त भेटमा प्रचण्डले भनेका थिए, “अहिले तपाईं हामी सबैलाई क्राइसिस छ, हामी मिल्यौं भने यो क्राइसिसको सामना गर्न सहज हुन्छ।”
उपाध्यक्ष ज्वालाले औपचारिक रुपमा एकतासम्बन्धी छलफल नभएको स्पष्ट गर्दै भने, “औपचारिक रुपमा एकताका लागि छलफल भएको छैन। तर नेताहरुबीचको भेटवार्तामा पार्टीभित्रका समस्या र कम्युनिस्ट आन्दोलनका सवालमा कुरा हुनु स्वभाविक हो।”


प्रतिक्रिया