प्रधानमन्त्रीद्वारा रानी जमरा र कुलरिया सिँचाइ आयोजनाको उद्घाटन

प्रधानमन्त्रीद्वारा रानी जमरा र कुलरिया सिँचाइ आयोजनाको उद्घाटन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिंचाइ आयोजना अन्तर्गत निर्माण सम्पन्न भएको रानी जमरा र कुलरिया तर्फको १४ हजार तीन सय हेक्टर क्षेत्रफल सिंचाइ आयोजनाको उद्घाटन गरेका छन् ।

मंगलबार प्रधानमन्त्री ओलीले ४.७१ मेगावाट क्षमताको विद्युतगृहको उद्घाटनसमेत गरेका छन् ।

उद्घाटन कार्यक्रमका लागि प्रधानमन्त्री ओली आज कैलाली पुगेका थिए । उनले सबैभन्दा पहिले लम्कीचुहा नगरपालिका वडा नम्बर ३, चिसापानीस्थित कर्णाली नदीमा रहेको आयोजनाको मुहानको अवलोकन गरे । त्यसपछि प्रधानमन्त्री ओलीले जानकी गाउँपालिका वडा नम्बर ९, कटासेमा निर्मित विद्युत् गृहको उद्घाटन गरे ।

आर्थिक वर्ष २०६७/६८ देखि निर्माण सुरु भएको यस आयोजनाको पहिलो चरण २०७४/७५ मा र दोस्रो चरण २०८०/८१ मा सम्पन्न भएको हो । आयोजना सम्पन्न भएसँगै १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । साथै, उत्पादित ४.७१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

अद्यावधिक गुरुयोजना अनुसार, २०८२ मसान्तसम्ममा २९ अर्ब ५९ करोड ७७ लाख रुपियाँ लागत अनुमान गरिएकोमा हालसम्म २० अर्ब ५८ करोड ५६ लाख रुपियाँ बराबरको काम सम्पन्न भइसकेको छ, जसमा ७५ प्रतिशत भौतिक प्रगति हासिल भएको आयोजनाले जनाएको छ ।

आयोजनामा नेपाल सरकारको ११ अर्ब २३ करोड ३३ लाख र विश्व बैंकको ९ अर्ब ३५ करोड २३ लाख रुपियाँ लगानी रहेको छ ।लम्की शाखातर्फ १४.६५ किलोमिटर मूल नहर निर्माण भइसकेको र शाखा तथा उपशाखा नहरहरूको निर्माणपछि थप ६ हजार हेक्टर जमिनमा सिँचाइ पुगी आयोजनाको कुल सिञ्चित क्षेत्र २० हजार तीन सय हेक्टर पुग्नेछ ।

यो आयोजनाले कैलाली जिल्लाको कृषि विकास र ऊर्जा आपूर्तिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।