कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध साँध्याे भन्नु गलत भएकाे बताएका छन् ।
मंगलबार कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिशोध साँधिएको भन्दै गराइरहेको हस्ताक्षर क्याम्पेनप्रति टिप्पणी गरेका हुन् ।
सरकार र अदालत एकै नभएकाेमा जाेड दिँदै उनले रास्वपाले तीन करोडभन्दा बढी हस्ताक्षर पुर्याउने हो कि भनेर डर लागेको भन्दै व्यंग्य गरे ।
‘विभिन्न प्रकारका अपराध गर्यो अनि सरकारलाई गाली गर्यो । सरकार अदालत होइन, अदालतले थुन्छ कि छोड्छ सरकारको हातमा हुँदैन । ठगी गरेपछि अदालतले थुन्छ त हामी के गर्नु ! गर्ने बेलामा नचाहिने काम गर्ने, अनि पछि लौ प्रतिशोध ! केको प्रतिशोध ? तथाकथित हस्ताक्षर क्याम्पेन, मलाई डर लागेको छ, तीन करोडभन्दा माथि हस्ताक्षर क्याम्पेन गयो भने, म उहाँहरूलाई सचेत गराउन चाहन्छु, हस्ताक्षर क्याम्पेन बढ्दै जाँदा तीन करोडभन्दा माथि नपुगोस् है, त्यसभित्रै राख्नुहोला । दुई चार जनालाई सही गरायो, घरमा गएर दनादन..!,’ उनले भने ।
उनले सभापति रवि लामिछानेलाई आफूले उपप्रधानमन्त्री, गृहमन्त्री बनाएको बताए । राजनीतिमा पनि आफूले नै ल्याएको दाबी गरे । ‘मैले ल्याएको राजनीतिमा, केको प्रतिशोध ? के साँध्नु थियो ? असभ्य ढंगले बोलेको छ !,’ उनले भने ।
प्रधानमन्त्री ओलीले नयाँ दलहरू अर्काले लडेर, निर्वासनमा बसेर, जेलनेल भोगेर, पिटाइ–यातना, क्षति, बलिदान सहेर ल्याएको लोकतन्त्रमा तर मारेको टिप्पणी गरे ।
‘तर माराहरू, व्यवस्था विरोधी तरमाराहरू । तसर्थ भ्रममा नपरिकन, हाम्रो देश हामीले विकास गर्नुपर्छ,’ उनले भने, ‘स्ट्याटस लेख्न पाए भयो । एकछिन बुरुक्क उफ्रिएर गाली गर्न पाए भयो । हाम्रो सभ्यता, सामाजिक सभ्यता, सामाजिक मर्यादा, सामाजिक संस्कृति, यसमाथि ख्याल नगरेर, यसमाथि धावा बोल्न पाए भयो । झूट र भ्रम फिँजाउन पाए भयो । हामी त्यस्ता कुरामा ध्यान दिँदैनौं ।’
उनले यो गठबन्धन ०८४ को चुनावसम्म जाने भन्दै त्यसपछि के गर्ने छलफल गर्ने बताए ।


प्रतिक्रिया