काठमाडौं । रसुवाको ल्हेन्दे खोलामा फेरि बाढी आएको छ । मंगलबार बिहान करिब २ बजे गोसाईकुण्ड गाउँपालिका–२ स्थित ल्हेन्दे खोलामा अचानक बाढी आएको हो ।
चीनतर्फबाट आएको बाढीका कारण त्रिशुली र भोटेकोशी नदी आसपासमा जलसतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
बाढीले टिमुरे भन्सार यार्डमा रहेको एक धर्मकाँटा बगाएको प्राधिकरणले जनाएको छ । खोलाको जलसतह अझै उच्च छ ।
प्राधिकरणले विशेषगरी रसुवा, नुवाकोट र धादिङका त्रिशुली र भोटेकोशी नदी किनारमा बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन र अनावश्यक रूपमा नदी किनारमा नजान अनुरोध गरेको छ ।
गत असार तेस्रो साताको वर्षाले पनि रसुवाको टिमुरे नाकामा ठूलो क्षति गरेको थियो । बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाउनुका साथै भन्सार क्षेत्रमा राखिएका गाडी बगाएको थियो ।


प्रतिक्रिया