मुख्यमन्त्री लामालाई बानियाँको जवाफ : राजीनामा नदिए प्रक्रियाबाटै बिदा गर्छाैं

मुख्यमन्त्री लामालाई बानियाँको जवाफ : राजीनामा नदिए प्रक्रियाबाटै बिदा गर्छाैं



काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएका इन्द्र बानियाँले मुख्यमन्त्री बहादुर सिंह लामाले इमान्दारीपूर्वक मुख्यमन्त्री पदबाट राजीनामा नदिए प्रक्रियाबाटै हटाउने बताएका छन् ।

मंगलबार दलको नेतामा पराजित भएपनि मुख्यमन्त्री लामाले संविधान अनुसार आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको अडान लिएपछि उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘उहाँ नेपाली कांग्रेसका संसदीय दलको नेताको हैसियतले दुई पार्टीबीच गठबन्धन हुँदा उहाँ मुख्यमन्त्री हुनुभएको हो । उहाँको अहिले दलको नेताको हैसियत गुमेको अवस्था छ। त्यही दलको विधान अनुसार भएको हो । नैतिकता, राजनीतिमा इमानदारिता र पार्टीको साथीहरूको कुरालाई उहाँले मान्नुभएन भने यो उहाँको दुर्भाग्य कुरा हो । यसको लागि प्रक्रिया छ । धेरै लामो दिन जाँदैन । त्यो प्रक्रियालाई उहाँले मार्गप्रसस्त गरे तुरुन्तै हुन्छ । नत्र भने लोकतन्त्रको अभ्यास छ । उहाँले नचाहेर हुँदैन । पद्धति र प्रक्रियाले सहज रूपमा उहाँलाई बिदाइ गर्छौं ।’

पार्टीभित्र आन्तरिक र बाह्य संघर्ष हुनुलाई बानियाँले लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । लोकतन्त्रमा दलका नेताले ठिक ढंगले कार्य सम्पादन नगर्दा दलीय व्यवस्थामा आफ्नो पार्टी कमजोर हुन्छ कि भनेर दलको नेतृत्व अदलीबदली हुनुलाई अन्यथा मान्न नहुने उनको तर्क छ ।

गणतन्त्र र संघीयता प्रतिको विश्वासलाई थप बलियो बनाउन कांग्रेसभित्र अहिले आन्तरिक प्रतिस्पर्धा भएको भन्दै उनले कसैको जित र हार नभइ हिजो जिम्मेवारी एउटा साथीकाे भएकाे आज अर्को साथीमा आएकाे बताए ।