बागलुङको ढोरपाटनमा पर्यटक बढेसँगै गोठमै आम्दानी

बागलुङको ढोरपाटनमा पर्यटक बढेसँगै गोठमै आम्दानी



बागलुङ । बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आयआर्जन बढेको छ । ढोरपाटन पुगेका केही पर्यटकहरू पद मार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन् ।

बुकी पुग्ने पर्यटकका लागि खान–बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्न थालेको हो । पदमार्ग आसपास र बुकीपानमा चिया–नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ ।

पाटन पुगेका पर्यटक गोठमै बस्ने र खाने गर्दा भैँसीको दूध, घ्यू तथा भेडाको मासु खपत हुन थालेको र यसले आयआर्जनमा वृद्धि भएको गोठालाहरू बताउँछन् । पर्यटकलाई भैँसीको दूधसँगै खीर, चिया, मोही तथा दही खुवाएर आम्दानी गर्न थालेको गोठालाहरूको भनाइ छ ।

बुकीपाटनका भैँसी गोठाला ७२ वर्षीय देवबहादुर विकले चरिचरनका रूपमा रहेको बुकीपाटन पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताए । अहिले बर्खामा पनि पर्यटक भरिभराउ रहेको र मोहीसमेत बिक्री हुने गरको उनको भनाइ छ । गोठमै दूध, मोही बिक्री भएपछि बोकेर ढोरपाटन जानै पर्दैन ।

बुकीपाटन उक्लनले बीच बाटोको चेप्टेढुङ्गामा गोठबाटै चिया बिक्री गरेर गुमानसिंह कुमाईले पनि राम्रो आम्दानी गरिरहेका छन् । ढोरपाटनमा एक वर्षमै आठ हजारले पर्यटक वृद्धि भएपछि बुकीपाटन गुल्जार बनेको छ ।

प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या वर्षेनि बढ्दै गएपछि घोडा सफारी, घरबास र गोठमा बस्ने पर्यटकका कारण आयआर्जनमा सघाउ पुगेको हो ।

ढोरपाटन शिकार आरक्षमा पहिले सिकार खेल्न विदेशी पर्यटक मात्र आउने गरेकामा पछिल्लो समय आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, निशेलढोर, ढोरबराह मन्दिर, बुकी पाटन र जलजलालगायत क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक पनि यहाँ आउने गरेका छन् ।

समुद्री सतहदेखि दुई हजार नौ सय मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्न थालेका छन् ।