एमाले–कांग्रेसको सातबुँदे सहमतिलाई कम नआँक्नू : प्रकाशमान सिंह

एमाले–कांग्रेसको सातबुँदे सहमतिलाई कम नआँक्नू : प्रकाशमान सिंह



काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भएको सातबुँदे सहमतिलाई कम नआँक्न आग्रह गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सिंहले जनताको मागमा दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाएको बताए ।

“सरकारमा खालि सत्तामा जान, मन्त्री, उपप्रधानमन्त्री हुनमात्रै गएका होइनौँ । सातबुँदे जुन समझदारी बनेको छ, त्यो त्यसै सितिमिति कम आँकलन नगरौँ,” उनले भने ।

सरकारमा अस्थिरता बढेको र सुशासन कायम हुन नसकेको जनगुनासोपछि स्थायित्व, स्थिरता र सुशासन दिन अहिलेको सरकार बनेको उनको भनाइ छ । सिंहले वर्तमान सरकार ६ महिनामा सरकार परिवर्तन हुने अस्थिर बाटोलाई तोडेर अघि बढेको उनको भनाइ छ ।

“राजनीतिक स्थिरता ल्याउनका लागि देशको ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) मिलेर अरू दलहरूलाई पनि समेटेर यो वर्तमान गठबन्धन सरकार चलिरहेको छ । नत्र ६ महिनामा त सरकार परिवर्तन भइरहन्थ्यो,” उनले भने ।

अर्को प्रसंगमा उपप्रधानमन्त्री सिंहले कांग्रेसलाई व्यवस्थित गरेर अघि लैजानुपर्ने बताए । कांग्रेसलाई विधि, नियमसम्मत तरिकाले संस्थागत गरेर अघि बढाउनुपर्ने उनको भनाइ छ ।