काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोभन्दा सक्षम फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको बताएका छन्।
बिहीबार आयोजित ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, “हामीले पेलेदेखि लिएर अहिलेका मेसी अथवा अरू खेलाडीहरूसम्मको दाँजोमा, एम्बाप्पे, रोनाल्डो सबैको दाँजोमा पुग्न सक्ने र त्योभन्दा अगाडि बढ्न सक्ने सामर्थ्य राख्ने खेलाडीहरू नेपालले नेपालमा उत्पादन गर्ने लक्ष्य लिएका छौँ।”
फिफा अन्तर्गतको यो कार्यक्रम नेपाल फुटबल संघ (एन्फा)ले सञ्चालन गरिरहेको हो। परियोजना सञ्चालनका लागि फिफाले ५० हजार अमेरिकी डलर प्रदान गरिसकेको छ। यसअन्तर्गत देशभरका १,०७२ विद्यालयमा ३२,६४० वटा फुटबल वितरण गरिनेछ। एन्फाका अनुसार कार्यक्रम १२ देखि १६ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिनेछ।


प्रतिक्रिया