झलनाथ खनालद्वारा पार्टी अध्यक्ष माधव नेपालको राजीनामा माग

झलनाथ खनालद्वारा पार्टी अध्यक्ष माधव नेपालको राजीनामा माग


ग्लोब नेपाल
3.1k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा माग गरेका छन् ।

शनिबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै नेता खनालले पार्टीलाई दिशा दिनुको सट्टा अन्योल र विघटनतर्फ लैजाने कार्य भएको भन्दै अध्यक्ष नेपालको राजीनामा माग गरेका हुन् । उनले पार्टी अध्यक्ष नेपालप्रति लक्षित गर्दै कसैलाई यो पार्टी चाहिएको छैन भने आफै हिँड्न सक्ने समेत बताए ।

नेता खनालले कसैले आफ्नो राजीनामा माग्दैमा आफू खुरुक्क राजीनामा दिएर नहिँड्ने भन्दै आफूले पार्टी छोड्ने कुरा कल्पना समेत नगरेको स्पष्ट पारे ।

नेता खनालले आफूले बोलेका वा लेखेका कुरामा समस्या छ भने पार्टी बैठक बोलाएर बहस छलफल गर्न चुनौती समेत दिए । उनले पार्टीमा आफूले वैज्ञानिक समाजवादको विचार अघि सारे पनि त्यो विचार र दृष्टिकोण नै पार्टीले सार्वजनिक नगरेको गुनासो समेत गरे ।