काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्दै छ । यही साउन १६ गतेदेखि सुरु भएको स्थायी समिति बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । शनिबार १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।
बाँकी सदस्यले आज बोल्ने छन् । धारणा राख्न नेताहरूलाई १०–१५ मिनेटको समय निर्धारण गरिएको छ । बैठकमा नेताहरूले पार्टीभित्र विधि, पद्धति र प्रक्रियालाई कडाइका साथ लागू गर्न सुझाव दिएका छन् ।


प्रतिक्रिया