बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानून बनाउँदैनाैं : मन्त्री चौरसिया

बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानून बनाउँदैनाैं : मन्त्री चौरसिया



काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून नल्याइएको बताएका छन् । नेपाल महिला संघले आज मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सञ्चारमाध्यममा सरकारले मुलुकी देवानी (संहिता) ऐन २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानूनी वैधता दिने प्रस्तावित कानून ल्याएको भन्दै समाचार प्रकाशित भएका छन् ।

सरकारले गलत सम्बन्धबाट गर्भ रही जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानून संशोधन गर्न लागेको तर बहुविवाहलाई मान्यता नदिने उनले बताए । यसमा पुरुष वा महिला जो दोषी छ उसलाई कारबाही गरिने गरी कानून निर्माण गर्न लागेको मन्त्री चौरसियाको भनाइ छ ।

शब्दबाट कुनै गलत अर्थ लाग्ने रहेछ भने त्यो संशोधन गर्न सरकार तयार रहेको र महिलालाई समस्या पर्ने गरी कानून नबनाउने उनले बताए । मस्यौदा मन्त्रिपरिषद्को समितिमा छलफलका क्रममा रहेको र पूरा तयार नभइसकेकाले सरकारको धारणा हो भनेर प्रचार नगर्न मन्त्री चाैरसियाले आग्रह गरे ।