काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह असली राजा नभएको दाबी गरेका छन् । आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्र शाहलाई कुसको राजाको संज्ञा दिए ।
ज्ञानेन्द्रलाई दरबार हत्याकाण्ड भएपछि कुसको राजाका रूपमा ल्याइएको भन्दै उनले वास्तविक राजतन्त्र वीरेन्द्र र दीपेन्द्रको मृत्युसँगै सकिएको टिप्पणी गरे ।
२००७ सालमै नेपालबाट तत्कालीन राजा त्रिभुवन भागेर भारत गएको भन्दै त्यही बेला अग्रजहरूले राजा बाहेक अरुमा सम्झौता गर्छौँ भनेको भए ठिक हुने टिप्पणी गरे । त्यही त्रुटिले २०६५ सम्म सामन्तवादीको अधीनमा रहनुपरेको बताए ।
उनले भने, ‘दरबार हत्याकाण्ड भनेको सानो कुरा हो । त्यसपछि एउटा कुसको राजा स्थापना गरेको भन्छु मैले । त्यो असली राजै होइन । राजा मारियो, रानी मारिए, युवराज मारिए । यता उता नभएको भाइ चाहिँ खोजेर ल्याएर बनाएको छ । दरबार हत्याकाण्डको परिकल्पना गरेको छ । अनि त्यस बाटोबाट आएको राजाले जनताको अधिकार खोस्छ । एउटा कठपुतली आयोग बनाएर अख्तियार बाँकी छोडेर, शेरबहादुर देउवामाथि मुद्दा चलाउँदै थियो । अख्तियारले चलाएर नहुने, यो सबै २००७ सालमा राजा फर्काएको परिणाम हो । दिल्ली गइसकेका थिए, उतै बस्न दिएको भए भइहाल्थ्यो नि । राजा फर्काउँदैनौँ, अरू कुरामा सम्झौता गर्छौँ भनेको भए पनि हुन्थ्यो होला । खैर त्यो अग्रजहरूको कुरा हो । त्रुटि भयो । जसले गर्दा भोगेको भोग्यै गर्नुपर्यो, ०६५ सालसम्म ।’


प्रतिक्रिया