काठमाडौं । थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोधसिंह थारुको कार्यकक्षमा अमेरिकी नागरिक शान्ति मोदीले तालाबन्दी गरेकी छन् । एक साताको बिदा लिएर मोदी एक महिना अमेरिका बसेर फर्किएकी थिइन् । उनी कार्यालयमा नआएको दिनको हाजिर गर्न नपाएपछि कार्यकक्षमा तालाबन्दी गरेको सुवोधसिंह थारुले बताए ।
मोदीले असार १२ गते बिदाका लागि निवेदन दिएकी थिइन् । एक साताको बिदा स्वीकृत गरेर उनी एक महिना गायब भएकी थिइन् । ‘ठूलै समस्या परेर कार्यालय नआउनु भएको हो कि माननीयज्यू भनेर मैले सोधेको थिएँ, उनले मेरो निजी मामिलामा किन चासो भनेर जवाफ फर्काइन’ अध्यक्ष थारुले भने, ‘देशको कानुन सबैलाई बराबर होला । नियमविपरित कसैलाई काखा कसैलाई पाखा म गर्दिन् ।’
एमाले नेता भगवती चौधरीको नाताले फुपुको छोरी तथा माओवादी नेता अमनलाल मोदीको दिदी पर्ने शान्ति मोदीको सम्पूर्ण परिवार अमेरिकामा बसोबास गर्छन् । उनले पनि अमेरिकाको ग्रिनकार्ड लिएकी छिन् । उनका श्रीमान् अमेरिकामा होटल व्यवसायमा संलग्न छन् ।
मन्त्री सरहको सुविधा त्याग्न नसकेर उनी आधा समय नेपाल र आधा समय अमेरिका बसोबास गर्छिन् ।


प्रतिक्रिया