काठमाडौं । संघीय निजामती विधेयकमा भएको ‘चलखेल’ छानबिनका लागि गठित संसदीय छानबिन विशेष समिति विवादमा परेकाे छ ।
समितिले तयार पारेकाे प्रतिवेदनमा विपक्षी दलका सांसदहरुले फरक मत राखेका छन् ।
समितिको प्रतिवेदनलाई अन्तिमरूपम दिने क्रममा विपक्षी दलका सांसदहरूले समितिका सभापति रामहरि खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई दोषी किटान गर्नुपर्ने अडान राखेपछि विवाद भएकाे बताइएकाे छ ।
नेपाली कांग्रेसका सांसदहरूले खतिवडालाई र एमालेका सांसदहरूले मुख्यसचिव अर्याल र संघीय संसद् सचिवालयका महासचिव पाण्डेयलाई दोषी किटान गर्न नमानेको विपक्षी दलका सांसदहरुको आरोप छ ।
विपक्षीहरूले आफ्ना तर्फबाट लिखितरूपमा फरक मत राखेर बैठक छाडेको बताएका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपाका सांसदहरू बैठकबाट बाहिरिएका हुन् ।
कांग्रेस–एमालेका सांसद भने सभामुखलाई भेट्न नयाँ बानेश्वरस्थित संसद भवनतर्फ लागेका छन् ।
तल्लो स्तरका कर्मचारीलाई दोष देखाएर उम्कने काम आफूहरुले स्वीकार नगरेकाे समिति सदस्य समेत रहेका माओवादीका सांसद माधव सापकाटाले बताए ।
समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र सहसचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र सहसचिवसँग समेत सोधपुछ गरेको थियाे ।


प्रतिक्रिया