दुर्गा प्रसाईंलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश

दुर्गा प्रसाईंलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र र धवललाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश सदर



काठमाडौं । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । आज न्यायाधीयशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

“निज क्यान्सर रोगबाट पीडित रहेको भन्ने निजले पेस गरेको प्रमाणबाट देखिन आएबाट समेत पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी दुर्गाप्रसाद प्रसाईंबाट रु. २५,००,०००।- (अक्षेरुपी पच्चिस लाख रुपैयाँ) नगद धरौट वा बैंक जमानत दिए लिई मुद्दाको पूर्पक्षका लागि तारेखमा राख्नुहोला,” आदेशमा भनिएको छ ।

प्रसाईंसँगै तीनकुने घटनामा पक्राउ परेका चार जनालाई पनि छाेड्ने आदेश न्यायाधीशद्वयले गरेका छन् ।

तीनकुने घटनामा पक्राउ परेका मध्ये ७ जना हिरासतमै थिए । उनीहरुमध्ये प्रसाईंसहित ४ जनाले उच्चमा पुनरावेदन गरेका हुन् । बाँकी ३ जनाको तर्फबाट पुनरावेदन भएको छैन ।

रवीन्द्र र धवललाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश सदर

उच्च अदालत पाटनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश सदर गरेको छ ।

जिल्ला अदालत काठमाडौंले मिश्र र राणालाई ३–३ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो । त्यसविरुद्ध सरकारी पक्षमा उच्च अदालतमा पुनरावेदन गरेकोमा अदालतले आदेश सदर गरिदिएको हो ।

उच्चको आदेशपछि मिश्र र राणाले कारागारबाहिरै रहेर मुद्दा लड्न सक्नेछन् ।