काठमाडौं। मधेसमा बढ्दो अराजकताप्रति स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले यसको मूल कारण ‘तस्करी’ भएको उल्लेख गर्दै सरकार, विशेषतः गृहमन्त्रीको पालामा यसको तीव्र वृद्धि भएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको मंगलबारको आकस्मिक समयमा बोल्दै सांसद सिंहले मधेस क्षेत्रमा लामो समयदेखि तस्करीको प्रभावबाट अराजकता फैलिएको दाबी गरे। उनले सरकारको संलग्नता वा निष्क्रियताले अवस्था झन जटिल बन्दै गएको संकेत गरे।
सांसद सिंहले भने, ‘अराजकता बढिरहेको छ, र यसको मूल कारण तस्करी हो। इजी मनीले अराजकतामा मलजल गरिरहेको छ। तर, सरकार तस्करी नियन्त्रण गर्नुपर्ने ठाउँमा अझ बढावा दिइरहेको देखिन्छ।’
उनका अनुसार हालका गृहमन्त्रीको कार्यकालमा तस्करी झन तीव्र भएको छ। सिंहले भने, “तस्करी अहिलेको गृहमन्त्री आएपछि झनै बढेको हो। इतिहासमै यति धेरै तस्करी कहिल्यै देखिएको थिएन।”
त्यसैगरी, उनले पूर्वमन्त्री जयप्रकाश गुप्ताको सप्तरीको कञ्चनपुरस्थित निवासमा हतियारधारी समूहले आक्रमणको प्रयास गरेको विषयमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
उनका अनुसार, दुई रात लगातार पूर्वमन्त्री गुप्ताको कञ्चनपुरस्थित घरमा हतियारधारी समूह पुगेको र उनी घरमा नभएको अवस्थामा कामदारमाथि कुटपिट गरेर फर्किएको घटना घटेको छ।


प्रतिक्रिया