म दोषी होइन, राजीनामा दिन्न : सभापति खतिवडा

म दोषी होइन, राजीनामा दिन्न : सभापति खतिवडा



काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा देखिएको त्रुटिका लागि आफू दोषी नभएको स्पष्ट पारेका छन्।

प्रतिवेदनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खतिवडाले सुरुदेखि नै आफू दोषी देखिए कारबाही भोग्न तयार रहेको भनिरहेको बताएका थिए।

उनले भने, ‘मैले दोष देखिए कारबाही भोग्छु भनिरहेको छु। कुलिङ पिरियड रहनुपर्छ भन्ने पक्षमा छु। राष्ट्रियसभाले सच्याएर ल्याओस् भन्ने पक्षमा छु।’

खतिवडाले निजामती विधेयकको प्रतिवेदनमा त्रुटि भएको स्वीकार गरे पनि त्यो आफ्नो कारणले नभएको दाबी गरे। छानबिन समितिको सोधपुछका क्रममा उनले भनेका छन्, ‘निश्चय नै त्रुटि नभएको भन्ने होइन तर मबाट होइन। म कुलिङ अफ पिरियड राख्ने पक्षमा सुरुदेखि आजसम्म छु र भोलि पनि राष्ट्रिय सभाले यो राख्ने प्रावधान ल्यायोस् भन्ने पक्षमा छु।’

उनले निजामती सेवा विधेयकमा सरकारी कर्मचारीलाई ‘कुलिङ अफ पिरियड’ लागू गर्ने व्यवस्था राखिएको स्मरण गराउँदै भनेका छन्, ‘निजामती र सरकारी भन्ने दुवै कुलिङ अफ पिरियडमा राख्नुको कारण सरकारको सुविधा लिएकाहरू सबैलाई समेट्न खोजिएको हो।’

यसैबीच, खतिवडाले समितिले आफ्नो नाम प्रतिवेदनमा स्पष्ट रूपमा उल्लेख नगरेको भन्दै आफूले राजीनामा नदिने बताएका छन्। उनले आफूले हस्ताक्षर गरेको कागजातमा ‘कुलिङ पिरियड’को व्यवस्था रहेको पनि जिकिर गरेका छन्।

प्रतिवेदनमा त्रुटि देखिए पनि त्यसमा आफ्नो प्रत्यक्ष भूमिका नरहेको खतिवडाको भनाइ प्रतिनिधिसभा समितिका सभापति जीवन परियारले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ।