रुपन्देही–३ उपनिर्वाचनमा उम्मेदवार बन्न रास्वपामा पाँच जनाको आवेदन

रुपन्देही–३ उपनिर्वाचनमा उम्मेदवार बन्न रास्वपामा पाँच जनाको आवेदन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे रुपन्देही–३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाकाे काम आज ५ बजे सकिँदैछ ।

कात्तिक १७ गते हुने निर्वाचनका लागि रास्वपाले आधिकारिक उम्मेदवार छनोट मापदण्ड अनुमोदन गरी साउन ७ गतेबाट लागू हुनेगरी खुला आह्वान गरिएको थियो ।

आधिकारिक उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीको न्यूनतम मापदण्ड र निर्वाचन आयोग नेपालको न्यूनतम कानुनी योग्यता पूरा गरेका व्यक्तिलाई सोही दिन बिहान १० बजेदेखि आज अपरान्ह ५ बजेसम्मको समय सीमा तोकेको थियो ।

मंगलबारसम्म जम्मा ५ जनाको आवेदन दिएको प्रवक्ता मनिष झाले जानकारी दिए । दरखास्त दिने समय बाँकी नै रहेकाले बेलुकासम्म थपिन सकिने झाले बताए । यस विषयमा शुक्रबार बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुने उनले स्पष्ट पारे ।

‘उम्मेदवार छनोटको विषयमा पार्टीले कुनै निर्णय गरेको छैन । आज बेलुका सम्म आवेदनको समय सीमा रहेकाले शुक्रबार बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्छ । हिजोसम्म पाँच जनाले दरखास्त दिएको जानकारी आएको छ । को–कोले दिए थाहा छैन’, उनले भने ।

रास्वपाले रुपन्देही-३ मा आम नागरिक र पार्टीका शुभेच्छुकहरूको भावनालाई समेटेर पारदर्शी छनोट विधिमार्फत योग्य र सक्षम उम्मेदवार उठाउने प्रतिबद्धता जनाएको छ ।