‘निर्वाचन आयोगले ल्याउन लागेको स्वमूल्याङ्कन कार्यविधि संविधान विपरीत’

‘निर्वाचन आयोगले ल्याउन लागेको स्वमूल्याङ्कन कार्यविधि संविधान विपरीत’



काठमाडौं । संसद्‌मा प्रतिनिधित्व गर्ने नेकपा एमाले र नेपाली कांग्रेस बाहेकका दलहरूले निर्वाचन आयोगले ल्याउन लागेको ‘स्वमूल्याङ्कन कार्यविधि’ संविधान विपरीत रहेको निष्कर्ष निकालेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बुधबार सिंहदरबारमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने माओवादी केन्द्रसहितका दलहरूको बैठकले उक्त कार्यविधि सरकारमा रहेका दलहरू कांग्रेस र एमालेकै चाहनाअनुरूप ल्याउन लागिएको भन्दै विरोध गरिएको हो ।

बैठकमा अध्यक्ष प्रचण्डले सो कार्यविधि हालको संविधान, ऐन तथा कानुन विपरीत रहेकाले सर्म्पूण दलहरूको साझा धारणा बनाउन बैठक आयोजना गरिएको जानकारी गराए ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेले निर्वाचन आयोगलाई सो कार्यविधिमा ‘गो अ हेड’ दिएको सूचना पाएको बताउँदै त्यसका आधारमा निर्वाचन आयोगले कार्यविधिमा राखेको प्रावधान साना दलहरूलाई नियन्त्रण गर्ने प्रयास भएको बताए । साथै आवश्यकताअनुसार सङ्घर्ष र प्रतिवाद गर्ने कुरामा पनि दलहरूका बीचमा समझदारी बनेको उपमहासचिव पुनले बताए ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रस्तावित कार्यविधि राजनीतिक दलसम्बन्धी ऐन २०७३ सँग मेल नखाने बताए । कार्यविधिबाट प्रस्तावित समिति, त्यसका संयोजक तथा अधिकारहरू संविधान र कानुनको मर्मविपरीत रहेको उल्लेख गरे ।

जनमत अध्यक्ष सीके राउतले निर्वाचन आयोगले साना दलहरूको अभिलेख अपडेट नगरेको गुनासो गर्दै आयोग साना पार्टीलाई हटाउने रणनीतिमा लागेको समेत बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले कार्यविधिको मनसाय नै गल्तीपूर्ण भएको दाबी गर्दै आफूहरू यसको विरोधमा रहेको प्रष्ट पारे ।

राप्रपाका नेता बुद्धिमान तामाङ, लोसपाकी नेतृ रेखा यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, नागरिक उन्मुक्तिका नेताहरू, र अन्य दलका प्रतिनिधिहरूले कार्यविधि संविधान, लोकतन्त्र र दलको स्वायत्तताविरुद्ध रहेको टिप्पणी गरे ।