सर्लाहीको निलम्बित मेयर थापा भ्रष्टाचारी ठहर

सर्लाहीको निलम्बित मेयर थापा भ्रष्टाचारी ठहर



सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले बुधबार उनलाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गरेको हो ।

विशेष अदालतले थापालाई गैरकानुनी सम्पत्तिको मुद्दामा एक वर्ष कैद र बिगो बराबरको जरिवाना हुने फैसला सुनाएको छ ।

विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले निलम्बित मेयर थापाले तीन करोड ४५ लाख २२ हजार ३८७ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको हो ।

अदालतले निलम्बित मेयर थापासहित प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेललाई भ्रष्टाचारी ठहर गरेको छ ।

उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीले भने सफाइ पाएका छन् ।

विशेषले थापाको जम्मा आम्दानी ९ करोड १४ लाख ३१ हजार हुँदा खर्च १२ करोड ५९ लाख ५३ हजार देखिएको जनाएको छ । आम्दानीभन्दा तीन करोड ४५ लाख २२ हजार ३८७ बढी देखिएको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेपछि थापालाई कसुरदार मानेको हो ।

यस्तै, थापालाई नदीजन्य पदार्थको ठेक्कामा हानिनोक्सानी गरेको अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गरेको छ ।