काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नै कुरा नमिल्दा शिक्षा विधेयक अगाडि बढेको छैन । दिएको अल्टिमेटममा ऐन जारी नभएपछि शिक्षक महासंघले आन्दोलनका रणनीति बनाउन आज छलफल गर्न लागेको छ ।
सरकारले समयमा शिक्षा ऐन जारी नगरेपछि शिक्षक महासंघ फेरि आन्दोलनको तयारीमा पुगेको हाे । महासंघले २१ साउनसम्मको अल्टिमेटम दिएर संसदमाथि दबाब बढाएको थियो ।
‘विद्यालय शिक्षा विधेयक, २०८०’ हाल संघीय संसद अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा छ । समितिमा राजनीतिक सहमति नजुटेका कारण विधेयक समितिबाट पारित हुन नसकेको हाे ।
कांग्रेस र एमालेले सहमति जुटाउने प्रयास गरिरहेका छन् । तर, अहिलेसम्म सहमति नजुटेका कारण समिति पनि प्रभावित भएको छ ।
त्यस्तै उक्त विधेयकमाथि छलफल गर्न समितिले आजै दिउँसो २ बजेका लागि बैठक राखेको छ ।
समितिका सभापति अम्मरबहादुर थापाका अनुसार, केही विवादित दफाहरूमा सहमति जुटिसकेको छ । “हिजोको परामर्श उपसमितिको बैठकमा केही विवादित दफाहरू मिलेका छन्,” थापाले भने, “आज समितिको बैठकले थप छलफल गरेर पारित गर्छ । समितिबाट पारित भएपछि प्रतिवेदन बनाएर प्रतिनिधिसभामा पेस हुन्छ ।”
विधेयकमा पूर्वप्राथमिक शिक्षा (ईसीडी) कार्यकर्तालाई शिक्षक मान्ने/नमान्ने, ईसीडीलाई स्थानीय तहमा राख्ने/नराख्ने, आन्तरिक र बाह्य पदपूर्तिको ६०/४० र शिक्षकतर्फबाट ७५/२५ को अडानमा विवाद छ ।
त्यसैगरी आवधिक बढुवा, शिक्षकहरूको कार्यसम्पादन मूल्यांकनको नम्बरलगायत विषयमा सहमति जुट्न सकेको छैन ।
गत चैत २० गतेदेखि शिक्षकले शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर काठमाडौंको माइतीघर–बबरमहल–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरेका थिए ।
त्यसपछि वैशाख १७ गते सरकारले नेपाल शिक्षक महासंघसँग असार १५ भित्र विधेयक पारित गर्ने प्रतिबद्धतासहित नौबुँदे सहमति गरेको थियो ।
महसंघले समितिको बैठकले लिने निर्णयको आधारमा आगामी रणनीति बनाउने जनाएको छ ।


प्रतिक्रिया