काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबललाई सम्बोधन गरेका छन् ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको अन्तिम दिन बिहीबार प्रधानमन्त्री ओलीले उक्त सत्रलाई सम्बोधन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसि) का लागि दिगो पूर्वाधार, सहज सम्पर्क सञ्जाल र निर्बाध पारवहन प्रणाली कुनै विकल्प नभई जीवनरेखा भएको स्पष्ट पारे ।
उनले भने, “यी संरचनात्मक चुनौतीहरू हटाउन हामीले क्षेत्रीय रूपमा जोडिने जलवायु सहनशील पूर्वाधारमा लगानी गर्नुपर्छ। डिजिटल प्रविधिको प्रयोगले नयाँ अवसरहरू सिर्जना गर्न सक्छ ।”
प्रधानमन्त्रीले नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षा साकार पार्न दिगो पूर्वाधार विकास, सुधारिएको सम्पर्क सञ्जाल र सहज पारवहन प्रणालीलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।
उनले नेपालले छिमेकी राष्ट्रहरू र अन्य मुलुकसँग आर्थिक सहकार्य र साझा समृद्धिको भावनामा आधारित साझेदारी विस्तार गरिरहेको जानकारी दिए ।
अन्तर्राष्ट्रिय व्यापारमा नेपालको समावेशिता र प्रतिस्पर्धा सुनिश्चित गर्न अवरोधरहित पारवहन प्रणाली आवश्यक रहेको भन्दै उनले भन्सार प्रणालीलाई सरल, समन्वयात्मक र आधुनिकीकरण गर्न जोड दिए ।
प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरूका लागि दिगो पूर्वाधार, बलियो सम्पर्क सञ्जाल र सहज पारवहन प्रणालीलाई आर्थिक वृद्धिको आधार स्तम्भका रूपमा मान्यता दिएको उल्लेख गर्दै विश्व समुदायलाई यस्ता राष्ट्रहरूलाई भौतिक, डिजिटल र आर्थिक रूपमा विश्व बजारसँग जोड्न सामूहिक प्रतिबद्धता नवीकरण गर्न आह्वान गरे ।
त्यसअघि प्रधानमन्त्री ओलीले एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिक्वानलाई भेटेका थिए । तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा उनीहरूबीच ‘साइडलाइन’ भेट भएको थियो ।


प्रतिक्रिया