असार १५ मै पास हुनुपर्ने शिक्षा विधेयक सरकारकै कारण रोकियो : प्रचण्ड

असार १५ मै पास हुनुपर्ने शिक्षा विधेयक सरकारकै कारण रोकियो : प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ हुनुमा कांग्रेस र एमालेलाई दोष दिएका छन्।

अनेरास्ववियु क्रान्तिकारीद्वारा आयोजित विद्यार्थीसँग संवाद कार्यक्रममा बोल्दै उनले भने, ‘विद्यालय शिक्षा विधेयक मेरो प्रधानमन्त्रित्वकालमै दर्ता भएपछि शिक्षकहरूसँग भएका सम्झौताहरूलाई समेटेर विधेयक बनाउने कुरामा वर्तमान सरकारको नेतृत्वकर्ता एमाले र केपी ओली जी नै त्यसको विरुद्ध गएकाले ढिलो भएको हो, त्यसमा कोही भ्रममा नपरौं।’

उनले प्रधानमन्त्री ओलीमाथि कटाक्ष गर्दै भने, ‘हामी जनताको घरदैलोमा अभियान लिएर जाँदै गर्दा, हामीले शिक्षकहरूको पक्षमा, विद्यार्थीको पक्षमा, विद्यालय शिक्षा विधेयकको पक्षमा बोल्दै गर्दा शिक्षकहरूलाई गाली गरेर किन चाहियो यिनीहरूलाई सुविधा भनेर गाली गर्ने प्रधानमन्त्री उहाँ नै होइन ? त्यसै कारणले रोकिएको छ, उहाँ ढाँटछल गर्न धेरै सिपालु हुनुहुन्छ तर शिक्षामा सुधार गर्ने कुरामा ध्यान छैन, उहाँहरू नीजिकरणतिर हुनुहुन्छ, सार्वजनिक शिक्षाको पक्षमा हुनुहुन्न।’

उनले असार १५ मै विधेयक पारित गर्ने भनिए पनि सरकारकै कारण रोकिएको जिकिर गरे। साथै, सबै दल र नेताहरू समान हुन् भन्ने भाष्य अस्वीकार गर्दै माओवादी पार्टी सार्वजनिक शिक्षाको सुधार पक्षमा दृढ रहेको बताए।