काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले २०४८ सालको चुनाव प्रचार प्रसार गरेको घरमै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सम्पर्क कार्यालय खोलेकी छन् ।
उनले काठमाडौंको थापा गाउँस्थित मण्डला नाटक घरनजिकैको उक्त घरमा आफ्नो सम्पर्क कार्यालय खोलेकी हुन् । उक्त घरमा अबको केही दिनमै कार्यालय उद्घाटन गरिने भएको छ ।
‘अहिले फर्निचरसहित सामानको व्यवस्थापन भइरहेको छ’, विद्यानिकट एक एमाले नेताले भने, ‘अब चाँडै नै औपचारिकरुपमा सम्पर्क कार्यालय सञ्चालनमा आउनेछन् । उहाँले यही कार्यालयबाट नेता-कार्यकर्तासँग संवादसहितका राजनीतिक गतिविधि अघि बढाउनु हुनेछ ।’
ठूलो कम्पाउन्डसहितको उक्त तीनतले घरमा भण्डारीले सम्पर्क कार्यालय खोलेर आफूलाई एमालेको राजनीतिमा सक्रिय गराउने तयारी गरेकी हुन् ।
मदनले २०४८ सालको चुनाव उक्त घरमै प्रचार प्रसार कार्यालय खोलेर जितेका थिए । त्यसपछि मदन पत्नी विद्याले पनि २०५१ सालको चुनावमा त्यही घरमै चुनाव प्रचार प्रसार कार्यालय खोलेकी थिइन् ।


प्रतिक्रिया