शिक्षा समितिमा श्याम घिमिरे र सुमना श्रेष्ठबीच चर्काचर्की

शिक्षा समितिमा श्याम घिमिरे र सुमना श्रेष्ठबीच चर्काचर्की



काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आज निजी विद्यालय र छात्रवृत्तिको विषयलाई लिएर चर्काचर्की भएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठबीच भनाभन भएको हाे ।

बैठकमा सांसद श्रेष्ठले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिसँगै आवासको व्यवस्था गर्नुपर्ने धारणा राखेकी थिइन् ।

“राज्य जो कमजोर वर्ग छ, त्यही वर्गका लागि हो । गरिब, जेहेन्दार विद्यार्थीको छात्रवृत्तिअन्तर्गत आवासको पनि व्यवस्था गर्नैपर्छ । संविधानमा लेखिएको कुरा ऐनमा पनि व्यवस्था गरिनुपर्छ । होइन भने संविधान च्यातिदिऊँ,” उनले भनिन् ।

उनको भनाइप्रति असहमति जनाउँदै सांसद घिमिरेले संविधानमा भएको आवासको व्यवस्था नै अव्यावहारिक भएको बताए । “आवासको व्यवस्था अव्यावहारिक छ । विदेशी मुलुकमा निले विद्यालयले राज्यको भार लिएबापत अनुदान दिन्छन्, तर नेपालमा त्यो अभ्यास छैन । क्यामेरा देखेपछि जे पनि बोल्ने ? खालि स्टन्टमात्रै गर्ने ?”

घिमिरेको भनाइमा सांसद श्रेष्ठले प्रतिवाद गरिन् । “दोहोरी खेल्ने ? मैले नाम लिएको छु ?,” उनले भनिन् ।

त्यस क्रममा केहिबेरमा चर्काचर्की भएपछि बैठकमा वातावरण तनावपूर्ण बन्दै गयाे । त्यसपछि समितिका सभापति अम्मरबहादुर थापाले हस्तक्षेप गरे । “तपाईंहरू चुप लाग्नुहोस् । मैले रुलिङ गर्ने कि तपाईंहरूले ? मैले थाहा पाइनँ ।”