काठमाडौ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गुटको भेला गरेर प्रजातान्त्रिक मान्यताविपरित ‘नैतिकताशून्य’ कार्य मात्र गरेनन् पार्टी राजनीतिमा आफू कमजोर रहेको सन्देश दिएर आफ्ना समर्थकहरुको मनोबल गिराउने काम समेत गरेका छन् ।
‘हामी संस्थापन पक्ष काठमाडौंमा कमजोर छौं, यसकारण अधिवेशन सार्नुको विकल्प छैन । कम्तीमा काठमाडौंको जिल्ला अधिवेशन मंसिरभन्दा अघि अधिवेशन गर्न हुँदैन, अधिवेशन सार्नु पर्दछ,’ काठमाडौंबाट प्रतिनिधित्व गर्ने सहमहामन्त्री प्रकाश रिमालले अध्यक्ष लिङदेनलाई यथार्थ विवरण सुनाउँदै बिहीबार बानेश्वरस्थित, तपस होटलमा सम्पन्न गुटगत भेलामा भने ।
लिङ्देनले बोलाएको गुटगत भेलामा सहभागी नेताका अनुसार, केन्द्रीय सदस्य पुष्पराज पुरुषले भेलामा बोल्दै भने, ‘यस्तो तालले चुनाव (महाधिवेशन) जितिन्न ।’ पुरुषको भनाइमा लिङदेन गुटको तयारी र रणनीति केही मिलेको छैन । लिङदेनले विश्वासपात्र मानेका केन्द्रीय नेताहरुले नै खस्कदो मनोबल प्रदर्शन गरेपछि भेलामा उपस्थित केन्द्रीय सदस्यहरुले पार्टी राजनीतिको हावा कता बगेको छ भन्ने बुझेका थिए ।
अध्यक्ष लिङदेन पार्टीमा बलियो भएको भए, केन्द्रीय कार्य समितिको वैठक बोलाएर विपक्षी मतलाई राजनीतिक रुपमा विधिवत परास्त गर्ने थिए । फरक मतलाई लिङदेनले अध्यक्षको रुपमा समेट्न नसकेको कुरा त केन्द्रीय समितिलाई छलेर, विधानविपरित उनले गरेको कारवाही र निष्कासनबाटै स्थापित भएको छ, राप्रपाको एक पदाधिकारीले भने ।
केन्द्रीय सदस्यहरु खुश्बु ओली, रवी हमाल र उद्धव भेटवालले फरक मत राख्ने नेताहरुलाई कडा कारवाही गर्नु पर्दछ भन्ने धारणा राखे । स्मरण रहोस्, ओली, हमाल र भेटवालको नाम निर्वाचन आयोगमा दर्ता छैन ।
भेलामा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरुले बीचबीचको तर्क राखेका थिए । उपाध्यक्ष बुद्धिमान तामाङको प्रस्तुति नरम थियो, स्रोतका अनुसार, बरु उनले गुटगत राजनीति गरेको भए आफू पूर्वअध्यक्ष भइसक्ने थिएँ भनेर बोल्दा अध्यक्ष पदप्रति तामाङको दाबी र आकांक्षा अझै कायम रहेछ भन्ने कुरा सहभागीहरुले अर्थ लगाएका थिए ।
अर्का उपाध्यक्ष ध्रुव प्रधान गुटको भेला छल्न विहीबार विहान मात्रै परासी गए । उपाध्यक्षद्वय तामाङ र प्रधान निर्वाचन आयोगमा जवाफ प्रस्तुत गर्ने क्रममा गत हप्ता लिङदेनको साथमा थिएनन् । राप्रपामा प्रधान पनि अध्यक्ष पदको आकांक्षी मानिन्छन् । कार्यसम्पादन समिति सदस्य तोरण गुरुङ भेलामा उपस्थित भएनन् ।
पशुपति शम्सेरको टीम गुट भेलामा गएनन्
पूर्वअध्यक्ष पशुपति शम्सेर राणा राजेन्द्र गुटको भेलामा गएनन् मात्र होइन, आफ्ना नजिकका नेताहरुलाई नजान संकेत दिए । भेलामा राणा निकट ठाकुर शर्मा, जगत गौचन, रवीन्द्र प्रताप शाह, राजाराम श्रेष्ठ कोही सहभागी भएनन् । लिङदेनको एकतर्फी कारवाही र मनोमानिप्रति राणा पछिल्लो समय चिन्तित रहेको राणा निकट नेताले भने ।
अध्यक्ष लिङदेनले गुटको भेला गरेको यो पहिलो पटक होइन । यस अघि साउन १५ गते तपस होटलमै यस्तै राजेन्द्र गुटको भेला सम्पन्न भएको थियो । यस्ता गुटगत भेलाका आयोजना सोभित उप्रेतीले गर्दै आएका छन् । अध्यक्षलाई गलत सल्लाह दिएर उचाल्ने काममा उप्रेती सक्रिय रहेको राप्रपाका नेताहरुको भनाइ छ । राजनीतिक सुझबुझ नभएका, पार्टीमा योगदान नगरेका उप्रेतीले ‘चिनियाँ क्याम्प मेरो कब्जामा छ’ भन्दै राप्रपा वृत्तमा भन्ने गरेका छन् । बिहीबारको भेलामा ‘खाजाको पनि व्यवस्था छ है’ भन्दै उप्रेतीले सहभागीहरुलाई खबर गर्न लगाएका थिए ।
भेलाको अन्त्यमा लिङदेन कडा रुपमा प्रस्तुत भएका थिए । फरक मत राख्ने नेताहरुप्रति कठोर हुने, केन्द्रीय समितिबाट कारवाही गर्ने बताएका थिए । ‘एकै विषयमा, एउटै व्यक्तिलाई कति पटक कारवाही गर्ने हो, कुरा बुझिएन ?’ युवा कार्यकर्ता रमेश लामाको प्रश्न छ ।


प्रतिक्रिया