काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन् ।
सभापति देउवा निवास बुढानीलकण्ठमा बैठकमा भ्रातृ संस्थाको अधिवेशनका लागि कार्यादेश पारित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । तदर्थ समितिमा रहेका भ्रातृ संस्थाहरुको अधिवेशन गर्नका लागि महामन्त्री विश्वप्रकाश शर्माले तयार गरेको कार्यादेशमा शीर्ष नेतामा सहमति जुटेको छ ।
आज पारित भएको कार्यादेश अनुसार पार्टीबाट गठित निर्देशक समितिले भ्रातृ संस्थाको अधिवेशन गराउने छ ।
बैठकमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादन निर्देशिका पनि छलफल भएको थियो । निर्देशिकालाई परिमार्जन सहित पारित गरिएको मुख्य सचिव पौडेलले जानकारी गराए । भ्रातृ संस्था र जनप्रतिनिधि कार्यसम्पादन निर्देशिकाका पारित गर्न तीन घण्टा बढी समय लागेको पौडेलले जानकारी गराए ।
बैठकमा रुपन्देही–३ को उपनिर्वाचनका विषयमा सामान्य छलफल भएको थियो ।
कांग्रेसको देउवा नेतृत्वको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको चार वर्षे कार्यकाल आगामी मङ्सिरमा सकिँदैछ । मङ्सिरसम्म १५ औँ महाधिवेशन गरिसक्नु पर्ने भए पनि अहिलेसम्म प्रक्रिया सुरु भएको छैन । यसबारे के गर्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि चार नेताबिच कुराकानी भएको छ ।


प्रतिक्रिया