धनगढी । नेकपा एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीको दृष्टिकोण गहिरो, दीर्घकालीन र राष्ट्रिय हितमा केन्द्रित रहेको बताउँदै, “ओलीज्यूलाई छोटो समयमा पढ्न सकिँदैन,” भन्ने अभिव्यक्ति दिएका छन्।
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशद्वारा आयोजित कञ्चनपुरको महेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण तथा दोस्रो पूर्ण बैठकमा भट्टले भने, “नेतृत्वको रक्षा गर्नु भनेको विचारको रक्षा गर्नु हो। ओलीजस्तो खट्ने, सपना देख्ने र सक्रिय रहने अरू नेता नेपालमा छैनन्। म पनि उहाँलाई पढ्दैछु।”
भट्टका अनुसार, ओलीको सोच विशाल छ। उनले भने, “महाकाली किनारबाट उहाँले मेची किनार देख्नुहुन्छ। म नारायणीसम्म देख्छु, कसैले चिसापानीसम्म। त्यसैले उहाँको दृष्टि र कदम बुझ्न समय लाग्छ।”
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किन नदिइएको विषयमा बोल्दै उनले भने, “राष्ट्रपतिलाई सम्मानित भएर बस्न हामीले भनिसकेका छौँ। गणतन्त्रको गरिमा र गौरवका रूपमा हामीले सम्मान गर्ने निर्णय गरिसकेका छौँ।”
भट्टले पार्टी बैठकमा समर्थन जनाउने र बाहिर आलोचना गर्ने संस्कारको अब अर्थ नरहने पनि बताए। उनले कार्यकर्ताहरूलाई पार्टी नेतृत्वप्रति दृढ विश्वास राख्न आग्रह गरे।


प्रतिक्रिया